चाडपर्वमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह

काठमाडौं : काठमाडौं उपत्यका प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले चाडपर्वमा मादक पदार्थ सेवनपछि सवारी साधन नचलाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालयले संयुक्त रूपमा आज आयोजना गरेको ‘ट्राफिक वाक’ तथा सुरक्षा सचेतना कार्यक्रममा बोल्दै उनले पर्वको रमाइलोको नाममा हुने लापरबाहीले अकाल मृत्यु बढेको भन्दै गहिरो चिन्ता व्यक्त गरे।
“चाडपर्व सुरु हुने बित्तिकै मदिरा सेवन गर्ने प्रवृत्ति सामान्यजस्तै भएको छ। तर, मदिरा सेवन गरेर गाडी चलाउँदा हुने दुर्घटनाले धेरैको ज्यान गइरहेको छ, जुन अत्यन्तै चिन्ताजनक अवस्था हो,” एआइजी कार्कीले भने, “मनोरञ्जनको नाममा मादक पदार्थ प्रयोग गर्नु उचित होइन ।”
उनले चालक, यात्रु तथा सर्वसाधारण सबैलाई ट्राफिक नियम पालना गर्न र प्रहरीलाई सहयोग गर्न अपिल गरे । “सडकमा खटिएका ट्राफिक प्रहरी तपाईँलाई दुःख दिन होइन, सुरक्षा दिन आएका हुन् । त्यसैले नियम पालना गर्नु नागरिकको कर्तव्य हो,” उनले जोड दिए ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले पनि चाडपर्वमा मदिरा र लागुऔषध सेवनका कारण हुने दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्ने बताए । उनले भने, “हामी नागरिकको सुरक्षाका लागि खटिएका हौँ । कृपया मदिरा सेवन गरेर गाडी नचलाउनुहोस्, ताकि चाडपर्वको खुसी शोकमा नबदलियोस् ।”
त्यसैगरी प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना र ट्राफिक सचेतना अभियन्ता डा. ओममूर्ति अनिलले पनि पर्वको बेला जिम्मेवार भई सवारी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ‘सडक सुरक्षा हाम्रो जिम्मेवारी’, ‘मदिरा सेवनपछि सवारी नगर्नुहोस्’, ‘ट्राफिक नियम पालना गरौँ’ जस्ता सन्देशसहित ट्राफिक प्रहरी, जनपद प्रहरी र महानगर प्रहरीको टोलीले वाक र र्याली गरेका थिए । रानीपोखरीबाट सुरु भएको सचेतना र्याली विभिन्न भाग परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर सम्पन्न भयो।
असोज १२, २०८२ आइतबार १८:०७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।