‘काठमाडौंको भारवहन क्षमता सक्किसक्यो, अब साइकल शहर नबनाई व्यवस्थित हुँदैन’

त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी केन्द्रीय विभाग, कीर्तिपुरमा प्राध्यापनरत डा. तारालाल श्रेष्ठ ‘सबाल्टर्न’ अध्ययन अध्येताका रूपमा कार्यरत छन्। अंग्रेजी साहित्य पढाउने उनी प्राध्यापक मात्रै होइनन्, एक कुशल साइक्लिस्ट पनि हुन्।
उनी साइकल चलाएर विश्वविद्यालय पुग्नुका साथै पर्यावरण संरक्षण र साहसिक साइक्लिङमा समेत रुचि राख्छन्। उनको प्रथम पुस्तक ‘शक्ति, स्रष्टा र सबाल्टर्न’ हो भने ‘सपनाको समाधि’ र ‘बन्दीपुरदेखि बन्दीपुरसम्म’ उनका गहकिला अनुसन्धान कृतिहरू हुन्।
नियमित काममा दैनिक साइकल प्रयोगसहित साइकल संस्कृति आन्दोलनमा सक्रिय उनको पछिल्लो पुस्तक हो- ‘साइकल सौन्दर्य’। यही साइक्लिङवरिपरि रहेर उकेरासँग गरेको कुराकानी:
तपाईंले अलि फरक स्वादको ‘साइकल सौन्दर्य’ पुस्तक प्रकाशन गर्नुभयो र साइकललाई २४ वटा नजरबाट नियाल्नुभयो। नामचाहिँ कसरी जुराउनुभयो?
म त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्य पढाउँछु। जुनसुकै कुरालाई पनि एउटा पक्षबाट मात्र हेर्नु हुँदैन। मानवशास्त्र र समाजशास्त्रको दृष्टिकोणबाट हेर्दा कला र सौन्दर्यलाई नै केन्द्रमा राखिएको हुन्छ। म प्राध्यापन मात्रै गर्दिनँ, साइकल पनि चलाउँछु, त्यसैले मैले यसबारे लेख्नुपर्छ भन्ने लाग्यो।
कुनै पनि कुरालाई पाठ्यक्रमले कसरी हेर्छ? मैले कसरी हेर्छु? हामीले हरेक गतिविधिलाई कसरी हेर्छौँ? भनेर नियालेँ। अनि, धेरै कोणहरू फुर्यो। यो किताबको लेखन शैली ‘अटोइथ्नोग्राफिक’ हो। यसमा साहित्यिक स्वाद कसरी दिन सकिन्छ भनेर पनि काम गरेँ।
‘साइकल सौन्दर्य’ कसरी त? भन्ने कुरामा साइकलको आफ्नै लय हुन्छ। यसले धेरै बाधा पुर्याउँदैन, सबै उमेर समूहकाले चलाउन सक्छन्, वातावरणलाई असर गर्दैन र शरीरको व्यायाम पनि हुन्छ। त्यसकारण मैले ‘साइकल सौन्दर्य’ नाम राखेको हुँ।
यो किताब प्रकाशित भएको महिना दिनभन्दा बढी भयो, प्रतिक्रिया कस्तो पाउनुभयो?
अन्य विषय पढ्नुभएका पाठकले समेत राम्रो मानिरहनुभएको छ। यो किताब प्रकाशित भएपछि धुलिखेल अस्पतालबाट समेत बोलाउनुभयो। उहाँहरूले बिरामीलाई साइकल चढ्न प्रेरित गरे पनि कोही नमान्ने गुनासो गर्नुभयो।
घुँडाको समस्या नआउनसमेत साइकल चढ्न सुझाउँदा नमान्ने रहेछन्। उहाँहरूले मलाई अभिप्रेरित गर्न भूमिका खेलिदिनुहोस् भन्नुभयो। समग्रमा, मैले राम्रै प्रतिक्रिया पाइरहेको छु।
यो ‘अटोइथ्नोग्राफिक’ भन्ने शैली के हो?
कुनै पनि विषयमा लेख्दै हुनुहुन्छ भने करिब १८ महिना त्यस विषयवस्तुको गहिराइमा पुग्ने, त्यसलाई महसुस गर्ने, रहनसहन, संस्कृति र जीवनशैली सबै बुझ्ने हो। यसमा लेखक आफैँ पात्र हुन्छ र अन्य पात्रको कथा पनि लेखिन्छ। यो झ्यालबाट बाहिर हेरेर लेख्ने होइन, भित्रै पसेर लेख्ने शैली हो।
मैले सन् २०१२ देखि साइकल चलाउन थालेँ। साइकल संसारलाई नियाल्न केही साइक्लिस्टदेखि अभियानकर्तासम्म भेटेँ, उनीहरूसँग सहभागी भएँ र साहित्य पनि पढेँ। त्यसपछि मात्रै यो शैलीमा पुस्तक लेख्छु भनेर केही प्राज्ञिक लेखहरू पनि पढेँ। अनि, कतै मेरो र कतै अरूको कथा मिसाउँदै यो पुस्तक लेखेँ। यही शैली नै अटोइथ्नोग्राफिक हो।
तपाईंले पुस्तकमा कसैको भनाइ उल्लेख गर्दै ‘आफूलाई पढ्न मन लागेको विषयको किताब नभेटे आफैँ लेख्नुपर्छ’ भन्दै यो किताब लेखेको बताउनुभएको छ। नेपाली बजारमा यस्ता किताबको अभाव हो?
एकदमै। नेपालमा केही साहित्यकारले साइकललाई जोडेर कथा वा निबन्ध लेख्नुभएको छ। पत्रकारिताको शैलीमा पनि साइकल जोडिएर नआएको होइन, तर बृहत् पाटो छुने गरी लेख्न बाँकी नै रहेछ। मैले खोज्दा किताब भेटिनँ, अनि आफैँ लेखेँ।
प्राध्यापकहरू भन्नेबित्तिकै जर्नल, लेख लेख्ने, त्यसैलाई प्रस्तुत गर्ने र पढाउने भन्ने बुझिन्छ, तर तपाईं साइकल अभियन्ताजस्तै किन लाग्नुभएको?
कुनै बेला म नाम चलेको स्कुलमा पढाउँथेँ। ‘कार कल्चर’मा हुँदा गाडीका ब्रान्ड कण्ठै थिए। सन् २०१३ मा अक्सफोर्ड जाँदा त्यहाँको विश्वविद्यालय देखेर म छक्क परेँ। नोबेल पुरस्कार विजेताहरू समेत साइकल चढ्दा रहेछन्। ठूला राजनीतिज्ञदेखि वैज्ञानिकसम्मले साइकल चढ्थे।
मलाई आफू गरिब देशको नागरिक भएर महँगा कार खोज्ने रहेछु भन्ने भयो। मेरो दिमाग नै औपनिवेशीकरण भएछ भन्ने लाग्यो। नेपाल आउनेबित्तिकै साइकल चढ्न थालेँ। शुरूमा गाह्रो र लाज पनि लाग्थ्यो। तर, वातावरणको पक्षमा वकालत गर्ने अनि कार्बन उत्सर्जन गर्ने गाडी आफैँ चढ्ने कुरा मलाई ठीक लागेन। पहिले साइकल चलाउँदा लाज लाग्थ्यो, अहिले त एकदमै खुसी लाग्छ।
लियोनार्दो दा भिन्चीले चित्र बनाएपछि साइकलको आविष्कार भयो। नेपालमा पञ्चनारायण र अष्टनारायणले साइकल ल्याए। यसको इतिहासबारे अलिकति बताइदिनुस् न!
साइकलको इतिहास २०० वर्ष पुरानो छ। यसमा जति छिटो परिवर्तन भएको छ, त्यति अरूमा कमै भएको होला। हवाइजहाज बनाउने राइट दाजुभाइ पनि साइकल नै चढ्थे। नेपालमा साइकलको इतिहास १३० वर्षको देखिन्छ।
साइकल लोकप्रिय त भयो, तर शासकहरूले यसलाई प्राथमिकतामा राखेनन्। पहिले सिंहदरबारमा साइकल नै साइकल हुन्थे, अहिले गाडी मात्रै देखिन्छ। सस्तो र पर्यावरणमैत्री भए पनि साइकल जति फैलनुपर्थ्यो, त्यति फैलन सकेन।
काठमाडौंमा पहिलो पटक साइक ल्याउँदा सबैले किन्न सक्ने हुँदैनथ्यो। केही सीमित व्यक्तिहरूले चढ्थे। पर्यावरणको हिसाबले एकदमै ठीक भएपनि साइकल अन्य सवारीसाधनको तुलानमा कम प्रयोग हुन थाल्यो। आर्थिक स्थिति नभए पनि अन्य साधन किन्नमा हाम्रो पैसा धेरै गयो।
तपाईंले पुस्तकमा जल, जङ्गल र जमिनलाई साइकलसँग जोड्नुभएको छ, किन?
हरेक कुरा शिक्षासँग जोडिँदो रहेछ र शिक्षा नै संस्कृति रहेछ। हामीले जल, जमिन र जङ्गलको बारेमा कहिल्यै सोचेनौँ। काठमाडौंकै कुरा गरौँ, यो शहरको भारवहन क्षमता कति हो, कति जङ्गल र जमिन चाहिन्छ भन्नेबारे कामै भएन।
हामीले गरिरहेको विकास त विनाश हो। यदि यी तीन कुराको सङ्गमलाई जोगाउने हो भने उपत्यकामा साइकल चढ्नु वातावरणीय हिसाबले अति उत्तम छ, त्यसकारण मैले यी कुरालाई जोडेको हुँ।
उपभोक्तावादी संस्कृतिले पर्यावरण बिगार्यो भन्ने तपाईंको चिन्ता हो?
एकदमै। अब काठमाडौंमा सवारी साधन थपिएको थपियै छन्, अनि हामी बाटो फराकिलो बनाउने भन्छौँ। के उपत्यकाले अझै बढी तौल थेग्न सक्छ? साइकल र सार्वजनिक यातायातलाई सबल बनाउने बेला भएन? साइकल पर्यावरणमैत्री मात्र होइन, स्वतन्त्रताको प्रतीक पनि हो।
कसरी?
परम्परागत पितृसत्तात्मक समाजलाई साइकलले चुनौती दिएको छ। युरोपका महिलाहरूले २५ वटा देश साइकलमा घुमेर किताबै निकालेका रहेछन्। उनीहरूले ३ हजार माइल साइकल चलाए, किताब लेखे र प्रवचन दिए। साइकल चलाउँदा महिलाहरूको पहिरन पनि परिवर्तन भयो। यसले मलाई साइकल महिलाहरूको स्वतन्त्रताको कडी पनि रहेछ भन्ने लाग्यो।
पढाउनु एउटा कुरा भयो, तर आफ्नै जीवनमा लागू गर्नु अर्को कुरा हो। यसलाई कसरी हेर्नुहुन्छ?
विश्वविद्यालयमा पर्यावरण साहित्य पढाइन्छ, तर व्यवहारमा लागू छैन। हाम्रो विश्वविद्यालयमा कविता पढाउनेले कविता लेख्दैन, नाटक पढाउने थिएटर जाँदैन।
त्यस्तै, वातावरण विज्ञानको कुरा गर्नेले आफैँ कार्बन उत्सर्जन गर्छ। यस्तो ढोंग मलाई फिटिक्कै मन पर्दैन। त्यसकारण, आफूले जे पढाइन्छ, त्यो व्यवहारमा पनि उतार्नुपर्छ भनेर म साइकल चलाउँछु र अरूलाई पनि उत्प्रेरित गर्छु।
तपाईंले बौद्ध समुदायमा रहेको ‘कोरा’ गर्ने प्रचलनलाई साइकलसँग जोड्नुभएको छ, कसरी संस्कृतिसँग जोडियो?
मन्दिर होस् वा गुम्बा, हामी चारै दिशा घुम्छौँ, यसैलाई ‘कोरा’ भनिन्छ। जिन्दगी पनि साइकलको चक्का घुमेजस्तै त घुम्छ। बुद्धले पनि जीवनमा धेरै ठाउँको भ्रमण गर्नुभयो। त्यसैले मैले यसलाई बौद्ध समुदायको संस्कृतिसँग जोडेको हुँ।
तपाईंले पुस्तकमा साइकल खेलकुदबारे पनि उल्लेख गर्नुभएको छ। ‘याक अट्याक’ निकै चर्चित छ, तर जति सम्भावना छ, त्यति काम हुन नसकेको हो?
‘याक अट्याक’ उच्च हिमाली क्षेत्रमा हुने साइक्लिङ प्रतियोगिता हो। यो खेल विदेशीले दुई दशकभन्दा बढी समयदेखि चलाइरहेका रहेछन्। सन् २०२३ मा म पनि सहभागी भएँ। यसबाट मलाई के लाग्यो भने हामीले साइक्लिङ रुटमा काम गर्नै सकेका रहेनछौं। सरकारले रुट बनाएर प्रतिस्पर्धा गराउने हो भने हामीले यसबाट धेरै आर्थिक फाइदा लिन सक्छौँ, तर यसमा काम हुन सकेको छैन।
सवारी ऐन र नीति नियमको हिसाबले के छ?
(हाँस्दै)... यो त छँदै छैन नि! दिगो विकासमा काम गर्नेले समेत साइकलबारे नसोचेको देख्दा म छक्क पर्छु। वातावरणमैत्री सवारीको कुरा हुन्छ, तर साइकल लेन कस्तो हुने भन्नेबारे कहीँ उल्लेख छैन।
असोज १२, २०८२ आइतबार १३:१९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।