‘नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ गर्‍यो, हामीले ३० रन कम बनायौँ’

‘नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ गर्‍यो, हामीले ३० रन कम बनायौँ’

काठमाडौं : वेस्ट इन्डिज क्रिकेट टोलीका प्रशिक्षक रेयन ग्रिफिथले नेपालविरुद्धको पहिलो टी-ट्वान्टी खेलमा आफ्नो टोलीको हारको मुख्य कारण कमजोर ब्याटिङ र मध्य ओभरमा आक्रामक खेल्न नसक्नु रहेको बताएका छन्।

उनले नेपालको उत्कृष्ट बलिङ र फिल्डिङको प्रशंसा गर्दै जितको श्रेय नेपाली टोलीलाई दिए।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै ग्रिफिथले १४९ रनको लक्ष्य सहजै पूरा गर्न सकिने भए पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेर आफूहरूलाई रोकेको स्वीकार गरे।

‘यो लक्ष्य सजिलै पूरा गर्नुपर्ने थियो, तर क्रिकेटमा कुनै पनि कुरालाई सहज मान्न सकिँदैन। नेपालले निकै राम्रो बलिङ र फिल्डिङ गर्यो’, उनले भने।

हारको मुख्य कारणबारे विश्लेषण गर्दै उनले भने, ‘मलाई लाग्छ हामीले कम्तीमा ३० रन कम बनायौं। यदि हाम्रो स्कोर अलि बढी भएको भए खेलको नतिजा फरक हुन सक्थ्यो।’

प्रशिक्षक ग्रिफिथले खेलको मध्य ओभरमा आफ्नो टोलीले सोचेअनुरुप प्रदर्शन गर्न नसकेको बताए।

पावरप्लेको अन्त्यसम्म खेल बराबरीको अवस्थामा भए पनि त्यसपछिको साझेदारी तोड्न नसक्नु र रन गति बढाउन नसक्नु हारको कारण बनेको उनको भनाइ थियो।

‘पावरप्लेको अन्त्यमा हामी ४० रनमा थियौँ भने उनीहरू ३८/२ को अवस्थामा थिए। खेल बराबरी थियो,’ उनले भने, ‘तर खेलको मध्य चरणमा हामी चुक्यौँ। हामीले त्यो समयमा अझ बढी आक्रामक भएर खेल्नुपर्थ्यो।’

उनले नेपालका पार्ट-टाइम बलरहरूले पनि सही लेन्थमा बलिङ गरेको र आफ्ना ब्याट्सम्यानले उनीहरूविरुद्ध खुलेर खेल्न नसकेको स्वीकार गरे।

‘नेपालका स्पिनरहरूले मध्य ओभरमा ७ ओभर बलिङ गरे, जुन क्षेत्रमा हामीले सुधार गर्नुपर्नेछ’, उनले भने।

नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै ग्रिफिथले खेलाडीहरूको मनोबल र संघर्षको भावना उत्कृष्ट रहेको बताए।

‘उनीहरूले राम्रो प्रदर्शन गरे। शुरूमै दुई विकेट गुमाउँदा पनि कप्तान र अर्का ब्याट्सम्यानले जसरी खेले, त्यसले उनीहरूको संघर्ष र खेलप्रतिको भावना देखाउँछ’, उनले भने।

शृंखलामा १-० ले पछि परे पनि आगामी खेलमा बलियो पुनरागमन गर्ने उनले प्रतिबद्धता जनाए।

‘हामी पनि युवा टोली हौँ र सिक्दैछौँ। अब हाम्रो ध्यान अर्को खेलमा गल्तीहरू सुधारेर पुनरागमन गर्नुमा हुनेछ’, उनले भने।

असोज १२, २०८२ आइतबार ०९:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।