सन्दीपले नखेल्ने निर्णय गरे, कारण उनैलाई सोध्नुपर्ला : प्रशिक्षक ल

सन्दीपले नखेल्ने निर्णय गरे, कारण उनैलाई सोध्नुपर्ला : प्रशिक्षक ल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा प्रमुख स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत कारणले नखेल्ने निर्णय गरेको बताएका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक लले लामिछाने नखेल्दा टोलीलाई ठूलो क्षति भए पनि अन्य खेलाडीले अवसरको सदुपयोग गरेको बताए।

‘सन्दीप केही व्यक्तिगत कारणहरूबाट गुज्रिरहेका छन् र उनले आज नखेल्ने निर्णय गरे। यसबारे थप जान्नका लागि उनीसँगै सोध्नुपर्ला,’ लले भने, ‘उनी नेपाली क्रिकेटका लागि ठूलो खेलाडी हुन् र उनको अनुपस्थिति ठूलो क्षति हो। तर खुसीको कुरा, अरू खेलाडीहरूले जिम्मेवारी लिए। कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरे, करण केसीले पनि आफ्नो भूमिका निभाए।’

उनले टोली एक जना खेलाडीमा मात्र निर्भर नभएको र सामूहिक प्रदर्शनले नै जित सम्भव भएकोमा जोड दिए।

‘हामीले एक जना खेलाडीमा मात्र भर पर्नु हुँदैन भन्ने बुझ्नुपर्छ। जब हामी एक टोलीको रूपमा खेल्छौँ, हामी निकै प्रतिस्पर्धी हुन्छौँ’, उनले थपे।

खेलमा सोचेजस्तो सुरुवात नभए पनि कठिन पिचमा १४०/१४५ रनको स्कोर पनि प्रतिस्पर्धात्मक हुने आफूले पहिले नै अनुमान गरेको उनले बताए।

‘हामीले ब्याटबाट राम्रो सुरुवात गर्न सकेनौँ, तर यो पिच ब्याटिङका लागि सहज थिएन,’ प्रशिक्षक लले भने, ‘बल पिचमा रोकिएर आइरहेको थियो, जसले ब्याट्सम्यानलाई टाइमिङ मिलाउन गाह्रो बनायो। मैले अभ्यासकै क्रममा यदि हामीले १४०/१४५ रन बनाउन सक्यौं भने खेलमा हाम्रो अवसर छ भनेको थिएँ, र नतिजा त्यस्तै आयो।’

‘कार्डियाक किड्स’को ट्याग हटाउने लक्ष्य
प्रशिक्षक लले नेपाली टोलीलाई प्रायः दिइने ‘कार्डियाक किड्स’को उपमा हटाएर दबाबमा शान्त भएर खेल्ने टोली बनाउने आफ्नो लक्ष्य रहेको बताए।

‘म कार्डियाक किड्सको ट्याग हटाउन चाहन्छु। त्यो शान्त र दबाबमा राम्रो निर्णय लिएर मात्र सम्भव हुन्छ। विश्वका उत्कृष्ट खेलाडीहरूले दबाबमा शान्त भएर आधारभूत कुराहरू सही तरिकाले गर्छन्, हामीले पनि त्यही सिक्नुपर्छ’, उनले भने।

ऐतिहासिक जितपछि पनि टोली उत्साही भएर मैदान बाहिर नजाने उनले स्पष्ट पारे।

‘आजको जितको खुसी मनाउनु स्वाभाविक हो, तर भोलि आराम गरेर सोमबारको खेलका लागि तयार हुनुपर्छ। वेस्ट इन्डिज एक गर्विलो क्रिकेट राष्ट्र हो, उनीहरू आजको हारबाट दुःखी छन् र अर्को खेलमा बलियो पुनरागमन गर्नेछन्। हामीले आजभन्दा पनि राम्रो खेल्नुपर्छ’, लले भने।

उनले विश्वकपको तयारीका लागि टोलीमा ७-८ खेलाडीको स्थान लगभग पक्का भए पनि बाँकी स्थानका लागि प्रतिस्पर्धा जारी रहेको संकेत दिए।

असोज १२, २०८२ आइतबार ०९:१५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।