टेस्ट राष्ट्रको टोलीलाई पहिलो पटक हराउँदा एउटा सपना पूरा भयो : कुशल भुर्तेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल भुर्तेलले टेस्ट राष्ट्रको टोलीलाई पहिलो पटक हराउनु एक सपना पूरा भएजस्तै भएको बताएका छन्।
शनिबार भएको नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-ट्वान्टी शृंखलाको पहिलो खेलमा ऐतिहासिक जित निकालेपछि पत्रकार सम्मेलनमा बोल्दै भुर्तेलले यो जितले टोलीमा विशेष खुशी छाएको बताए।
‘टेस्ट राष्ट्रलाई हराउनु एउटा सपना थियो। हामी यसअघि धेरै पटक नजिक पुगेर पनि चुकेका थियौं, जस्तै विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा। तर आज जित्दाको अनुभव एकदमै फरक र खुशीको छ’, भुर्तेलले भने।
उनले खेलको अन्तिम ओभरमा जित सुनिश्चित भएपछिको अनुभव सुनाउँदै भने, ‘जितको अनुभव त अन्तिमभन्दा अघिल्लो बलमै आइसकेको थियो। दीपेन्द्रले अन्तिम ओभरमा २८ रन डिफेन्ड गर्छन् भन्नेमा हामीलाई विश्वास थियो।’
खेलमा नेपालको ब्याटिङ सोचेअनुरुप नभए पनि दोस्रो इनिङ्समा उत्कृष्ट फिल्डिङ र बलिङले जित सम्भव भएको भुर्तेलले बताए।
‘हाम्रो बलियो पक्ष नै फिल्डिङ हो। हामी युवा टोली हौं र फिल्डिङमा सधैं राम्रो गर्ने प्रयास गर्छौं’, उनले भने।
उनले वेस्ट इन्डिजका खतरनाक ब्याट्सम्यान काइल मेयर्सलाई सुरुमै रनआउट गर्नु खेलको ‘बुस्टर’ साबित भएको बताए।
‘शुरुमै काइल मेयर्सजस्तो खेलाडीलाई रनआउट गरेपछि टोलीको मनोबल उच्च भयो। त्यसपछि हाम्रा स्पिनरहरूले खेलमा पकड बनाउन सक्छन् भन्ने विश्वास थियो’, भुर्तेलले भने।
उनले १५ ओभरपछि केही क्याच छुटे पनि करण केसीको उत्कृष्ट ओभरले खेलमा ‘बाउन्स ब्याक’ गरेको बताए।
सन्दीप लामिछानेको अनुपस्थितिमा दोस्रो लेग स्पिनरको जिम्मेवारीबारे सोधिएको प्रश्नमा भुर्तेलले आफू जुनसुकै बेला टोलीले दिएको जिम्मेवारीका लागि तयार रहेको स्पष्ट पारे।
‘टोलीलाई जब आवश्यक पर्छ, म बलिङ गर्न तयार छु। हाम्रो टोलीमा बलिङ विकल्पहरू धेरै छन्, जुन हाम्रो बलियो पक्ष हो। आज कुशल मल्ल र गुल्सन झाले बलिङ गरेनन्। त्यसैले आवश्यकताअनुसार म जहिले पनि तयार छु’, उनले भने।
पहिलो खेल जितेर शृंखलामा अग्रता लिए पनि टोली ‘क्यारीड अवे’ नहुने उनले बताए।
‘हाम्रो सपना टेस्ट राष्ट्रविरुद्ध शृंखला जित्ने हो। हामीले पहिलो खेल जितेका छौं, तर हामी आफ्नो प्रक्रियामा केन्द्रित छौं। अर्को खेलमा पनि यही प्रदर्शन दोहोर्याउने प्रयास गर्नेछौं’, उनले थपे।
खेल हेर्न आएका झन्डै चार हजार दर्शकलाई धन्यवाद दिँदै भुर्तेलले उनीहरूको समर्थनले खेलाडीहरूलाई थप हौसला मिलेको बताए।
‘हामी जहाँ गए पनि दर्शकको यस्तै माया पाउँछौं। उहाँहरूको हरेक डट बल र बाउन्ड्रीमा आउने तालीले हामीलाई थप ऊर्जा दिन्छ। अर्को खेलमा पनि यसैगरी समर्थन गर्न आउनुहोला’, उनले दर्शकहरूलाई आग्रह गरे।
असोज १२, २०८२ आइतबार ०८:५९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।