नेपालको ऐतिहासिक जित : पहिलो पटक टेस्ट राष्ट्रमाथि विजय, वेस्ट इन्डिज १९ रनले पराजित

नेपालको ऐतिहासिक जित : पहिलो पटक टेस्ट राष्ट्रमाथि विजय, वेस्ट इन्डिज १९ रनले पराजित

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट खेल्ने राष्ट्रको टोलीलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको छ।

शनिबार शारजाह क्रिकेट रंगशालामा भएको पहिलो टी-ट्वान्टी खेलमा नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले स्तब्ध बनाएको हो। यो जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

जितका लागि १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि नविन बिडैसीले सर्वाधिक २२ तथा अमिर जांगोले १९ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालले खेलको सुरुवातदेखि नै कसिलो बलिङ र उत्कृष्ट फिल्डिङ गरेको थियो। दोस्रो ओभरमै कुशल भुर्तेलको सानदार डाइरेक्ट थ्रोमा ओपनर काइल मेयर्स (५ रन) रनआउट भएपछि वेस्ट इन्डिज दबाबमा आएको थियो। त्यसपछि नेपालले नियमित अन्तरालमा विकेट लिइरह्यो।

एक समय १६.३ ओभरमा ९४/७ को कमजोर अवस्थामा पुगेको वेस्ट इन्डिजका लागि कप्तान अकिल हुसेन र फबिएन एलेनले आशा जगाएका थिए।

अन्तिम १८ बलमा ४९ रन आवश्यक हुँदा १८औं ओभरमा १९ रन बनेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। तर, १९औं ओभरमा बलिङ गर्न आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै मात्र २ रन दिएपछि नेपालको जित सुनिश्चित बनेको थियो।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र कप्तान रोहित पौडेलले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो। नेपालको सुरुवात भने खराब रह्यो। ३.१ ओभरमा १२ रन बनाउँदा दुवै ओपनर कुशल भुर्तेल (६) र आसिफ शेख (३) लाई गुमाएको थियो।

संकटको अवस्थामा तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ५८ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्सलाई सम्मानजनक अवस्थामा पुर्याएका थिए। कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए भने कप्तान रोहितले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए।

अन्त्यतिर गुल्शन झाले १६ बलमा २ छक्कासहित २२ रन जोड्दै राम्रो अन्त्यको संकेत दिएका थिए। तर, १९औं ओभरमा जेसन होल्डरले दीपेन्द्रसिंह ऐरी (१७), करण केसी (०) र सन्दीप जोरा (९) लाई आउट गरेपछि नेपाल बलियो योगफल बनाउनबाट चुकेको थियो।

वेस्ट इन्डिज ‘ए’ का लागि अनुभवी बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। स्पिनर नविन बिडैसीले ३ तथा कप्तान अकिल हुसेनले १ विकेट लिए।

शृंखलाको दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार हुनेछ।

असोज १२, २०८२ आइतबार ०८:५१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।