दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच

कञ्चनपुर : दसैँ सुरु भएसँगै कञ्चनपुरका थारू बस्तीहरूमा सखिया नाचको रौनक गुञ्जिएको छ। गाउँबस्तीमा चहलपहल बढेसँगै राति अबेरसम्म मादल घन्किने र युवतीहरूको सामूहिक नाचले दसैँलाई अझ रंगीन बनाएको छ।
बेदकोट नगरपालिका–९ लालपुरमा प्रत्येक साँझ ८ बजे बडघरको आँगनमा थारू समुदाय एकत्रित भई सखिया नाच्ने परम्परा रहिआएको छ। स्थानीय सीता चौधरीका अनुसार नाच सुरु गर्नु अघि देवी–देवताका नाम लिइन्छ र यसमा महाभारतसम्बन्धी कथाहरू समेत समेटिएका हुन्छन्।
“सखिया नाच हाम्रो मौलिकता र परम्परालाई जीवन्त राख्ने माध्यम हो,” उनले भनिन्, “हरेरी पूजापछि गाउँमा यो नाच सुरु हुन्छ र परिवारका प्रत्येक सदस्यको सहभागिता अपेक्षित हुन्छ।”
यद्यपि पहिलेको पुस्ताले दशैँ आउनुभन्दा महिनौँ अगाडि नै सखिया नाच सुरु गर्ने गरेकोमा अहिले यो चलन छोटिँदै गएको छ। स्थानीय बुद्धिनी डगौराले भने, “अहिले दश दिन मात्र नाचिन्छ। रोजगारी र शिक्षाका कारण धेरै युवापुस्ता बाहिर गएकाले संस्कृति पुस्तान्तरणमा चुनौती छ।”
संस्कृतिविद् धिरेन्द्र चौधरीका अनुसार ‘सखी’ शब्दको अर्थ साथी भएकाले सबै मिलेर नाचिने भएकै कारण यसलाई ‘सखिया नाच’ भनिएको हो। उनले थपे, “यस नाचमा भगवान कृष्णको जीवनमा आधारित गीत गाइन्छ, जसले समुदायलाई एकताबद्ध बनाउँछ।”
सखिया नाचमा युवतीहरूले सेतो फरिया र रातो चोलिया लगाउने, केटाहरूले सेतो धोती र मनपर्ने कमिज लगाउने परम्परा छ। गीत नसकुन्जेल नाच जारी रहने र विशेष गीत तोकिएको दिनमै गाइने चलन रहेको उनले बताए।
सामान्यतया पुरुषले मादल बजाउने र युवतीहरूले नाच्ने प्रचलन रहिआएको यो नाचलाई समुदायको पहिचान र आपसी भाइचाराको प्रतीकका रूपमा हेरिन्छ। “आफ्नो संस्कृतिको जगेर्ना र भाइचारा मजबुत बनाउन सखिया नाच आवश्यक छ,” चौधरीले जोड दिए।
स्थानीय निशा चौधरीका अनुसार कृष्णाष्टमीदेखि नै गीत गाउने परम्परा सुरु भए पनि दसैँमा यसको विशेष रौनक हुन्छ। कतिपय गाउँमा तिहारसम्म पनि सखिया नाच जारी रहने परम्परा छ।
दसैँका बेला घर–घरमा गएर नाच्ने चलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको संस्कार स्थापित गर्ने विश्वास थारू समुदायमा रहिआएको छ।
असोज ११, २०८२ शनिबार २०:३७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।