दशैं विशेष मौसम बुलेटिन : अष्टमीदेखि दशमीसम्म कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

दशैं विशेष मौसम बुलेटिन : अष्टमीदेखि दशमीसम्म कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले दशैं विशेष मौसम बुलेटिन जारी गर्दै अष्टमीदेखि दशमीसम्म देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

आज साँझ ६ बजे जारी बुलेटिनअनुसार हाल मनसुन वायु केही कमजोर भए पनि नेपालबाट औपचारिक रुपमा बाहिरिन सकेका छैन। सरदरमा अक्टोबर २ तारिखमा मनसुन समाप्त हुने भए पनि प्रत्येक वर्ष सो मिति फरक हुने विभागले स्पष्ट पारेको छ।

बुलेटिनमा अष्टमी (असोज १४) का दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

नवमी (असोज १५) मा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का देखि मध्यम वर्षा हुने देखिएको छ।

विजया दशमी (असोज १६) का दिन भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा, साथै कोशी प्रदेशका पहाडी तथा तराई भू-भागमा वर्षाको सम्भावना छ। मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि हल्का देखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

दशैं अवधिभर मनसुनको प्रभाव रहने भएकाले मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ।

असोज ११, २०८२ शनिबार १९:३०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।