जेन-जी घाइतेको उपचारमा खटिएका डा. अरुणको अनुभव : जब गोलीले निधार भ्वाङ परेका युवकलाई ल्याइयो...

काठमाडौंः डा. अरुण सिग्देल हाडजोर्नीरोग विशेषज्ञ हुन्। उनले काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा काम गर्न थालेको करिब १३ वर्ष भयो। तर, भदौ २३ र २४ गते (जेनजी आन्दोलन)को जस्तो क्रूर घटना उनले कहिल्यै नजिकबाट देखे/भोगका थिएनन्। ती दुई दिन जेनजी आन्दोलनमा परी घाइते भएकाको अस्पतालमा उपचार गर्दा उनलाई रणभूमिमा काम गरेको जस्तो महसुस भयो। डा. अरुणले तीनै दुई दिनको घटनामा केन्द्रित भएर चिकित्सकीय पेशाको शिलशिलाको अनुभव उकेरासँग साटेका छन्।
रगतमा लतपतिएका घाइतेको उपचार गरेका ती दुई दिन
२०८२ भदौ २३ गते डा. अरुण अन्य दिनजस्तै बिहान आठ बजे नै सिभिल अस्पतालको ड्युटीमा पुगे। त्यो दिन जेनजी समूहको आन्दोलन छ भन्ने त उनलाई थाहा थियो। तर, आन्दोलनमा त्यसरी क्रुरता र विध्वंश नै मच्चिएला भन्ने कल्पना पनि गरेका थिएनन्।
उनले अस्पतालमा नियमित लिइने राउण्ड लिए। बिरामीको अवस्था बुझे। अनि ओपिडीमा बिरामीको स्वास्थ्य जाँच र आवश्यक औषधि उपचारमा खटिए।
त्यसपछि नियमित ओपिडी सकेर दिउँसो १२ बजेतिर डा. अरुण खाना खान जानका लागि अस्पतालको गेटतर्फ निस्किए। गेटमा निस्कँदा त घाइतेहरुलाई सिभिल अस्पतालमा ल्याएको देखे। कसैलाई झुण्ड्याउँदै त कसैलाई बोकेर ल्याउँदै गरिएका रक्ताम्मे भएका घाइतेहरू देखेर उनी झस्किए।
बाहिर संसद भवनतर्फ हेरे। संसद भवनतर्फ भटट गोली चलिरहेको देखे। आन्दोलनकारीले प्रहरीलाई ढुंगा मुढा हानीरहेको देखियो।
उनले अस्पतालको गेट अगाडिको अवस्था कुरुक्षेत्र जस्तै बनिसकेको देखे। त्यो सबै दृष्य देखेपछि उनलाई अस्पताल बाहिर जाने आँट आएन। अस्पतालको गेटबाट भित्रै फर्किएर आकस्मिक कक्षतिर लागे। अनि तुरुन्तै तीनकुनेस्थित विद्यालयमा भएकी पाँच वर्षीय छोरीलाई घरमा ल्याउनका लागि फोन थिचे। किनकी २०८१ चैत १५ मा तीनकुनेमा पनि दुर्गा प्रसाइँको नेतृत्वमा भएको आन्दोलनमा दुई जनाको मृत्यु र ठूलै संख्यामा घाइते भएका थिए। त्यसैले उनलाई डर लाग्यो। घरमा फोन गरेपनि लागेन। अनि नेपालगञ्जमा भएकी श्रीमतिलाई म्यासेज गरेर हुलदंगा भएको खबर गर्दै छोरीलाई घर ल्याउन लगाउनु भन्नु भन्ने म्यासेज गरेर डा. अरुण ढिला नगरी अस्पतालको आकस्मिक कक्षमा छिरे।
त्यो बेलासम्ममा आकस्मिक कक्षमा घाइतेको चाप बाक्लो भइसकेको थियो। उनी आकस्मिक कक्षमा छिर्ने बित्तिकै एक जना छातिमा गोली लागेर अस्पताल पुर्याइएको युवा देखे। तर, ती युवाले अस्पताल पुर्याउनु अघि नै प्राण त्यागि सकेका रहेछन्। युवालाई गोली लागेर मृत्यु भएको त्यो हृदयविदारक दृष्यले उनलाई विच्छिप्त बनायो। डा. अरुण घाइतेको उपचारमा नै व्यस्त थिए।
२३ गते दिनभर डा. अरुणलाई कुरुक्षेत्रमा परेका घाइतेको उपचार गरिरहेको महसुस भयो। त्यो दिन सिभिल अस्पतालमा रक्ताम्मे भएका घाइतेलाई आकस्मिक कक्ष भित्र छिराउन भ्याइनभ्याइ थियो। बेडको अभावमा अस्पतालको भुईँमा नै म्याट ओछ्याएर स्वास्थ्यकर्मी र चिकित्सकहरू छटपटाइरहेका घाइतेको उपचार गरिरहेका थिए। सिभिल अस्पतालको त्यही भुइँ तलामा भएको आकस्मिक कक्ष र त्यही तलामा घाइतेको रगतमा लतपतिँदै डा. अरुणलगायत चिकित्सकको टिम घाइतेलाई बचाउन हर कोसिस गरिरहेका थिए।
चिकित्सकको टिमलाई गोली लागेका घाइतेको गोली निकाल्न भ्याइनभ्याइ थियो। केही घाइते बेडमा थिए, केही भुईँको म्याटमा अनि केही त बेन्चमा। चिकित्सकको टिम घाइतेको अवस्था अनुसार गम्भीर घाइते भएकालाई उपचारमा प्राथमिकता दिइरहेका थिए। त्यहाँ कतिपय घाइतेको एक मिनेट उपचार गर्न ढिलो भए ज्यान जान्थ्यो। मृत्युको मुखमा पुगेका घाइतेलाई उपचारमा पहिलो प्राथमिकता दिनुपर्यो नै।
अनि केही घाइतेलाई तुरुन्तै अप्रेशन गर्न अप्रेशन थिएटरमा लगियो। कसैलाई आइसीयु र भेन्टिलेटरमा राखिएको सम्झन्छन्, उनी। कोही घाइतेलाई आकस्मिक र प्राथमिक उपचार गरेर आवश्यकता अनुसार अन्य अस्पतालमा रिफर गरियो। त्यसरी रिफर गर्दा उपचारका लागि समस्या चाँडै पहिल्याउन सहज होस् र थप समय खर्च नहोस् भनेर घाइतेको शरीरमा लगाइएको ब्यान्डेजमा नै ‘यहाँनेरी यस्तो समस्या भएको छ’ भनेर समेत लेखिदिएको डा. अरुणले सुनाए। २३ गते करिब ३ बजेको अवस्था यस्तो थियो की घाइतेको चापको कारण चिकित्सकलाई उपचार गर्न समेत हम्मेहम्मे परिरहेको थियो।
२३ गतेको त्यो दिन सिभिल अस्पतालमा घाइतले रणमैदान जस्तै थियो। त्यो क्रुर र हृदयविधारक दृष्य शब्दमा वर्णन गर्न सक्दैनन्, उनी। राती करिब नौ बजेसम्ममा घाइतेको चाप अलि कम भयो। आकस्मिक रुपमा तत्कालै शल्यक्रिया गर्नुपर्ने घाइतेको शल्यक्रिया गरियो। रिफर हुनुपर्ने रिफर गरियो। त्यो बेलासम्म डा. अरुण भोकले शिथिल भइसकेका थिए। घाइतेको चाप अलि कम भयो। त्यसैले उनले घर जाने निर्णय लिए।
राती करिब ९ः४५ तिर उनी सिभिल अस्पतालबाट गाडि चलाएर घर हिँडे। त्यो बेला कर्फ्यु लागिसकेको थियो। ठाउँठाउँमा सुरक्षाकर्मीको चेकजाँच थियो। चिकित्सकको परिचय दिँदै उनी करिब १० मिनेटमा घर पुगे। तर, दिनभरीको त्यो क्रूर घटनामा परेर अस्पताल पुर्याइएका घाइते र मृत्यु भएका व्यक्तिलाई सम्झिएर डा. अरुणलाई खाना रुचेन। उनी रातभर निदाउन सकेनन्।
भोलिपल्ट पनि उस्तै रणमैदान
भोलिपल्ट २४ गते बिहानै डा. अरुण उठे। अघिल्लो दिन नै आन्दोलनमा परी १९ जनाको मृत्युको पुष्टि भइसकेको थियो। त्यसैले २४ गते पनि थप के हुने हो भन्ने भयकै बीच डा. अरुण अस्पताल हिँडे।
बिहान करिब आठ बजे नै डा. अरुण सिभिल अस्पताल पुगे। अस्पताल छिरेर भर्ना भएका बिरामीको राउण्ड लिन थाले। अस्पतालमा अघिल्लो दिनका घाइतेको चाप बाक्लो थियो। त्यो दिन पनि घाइतेको प्रकृति र अवस्था अनुसार प्राथमिकिकरण गरेर घाइतेको शल्यक्रिया गर्न थाले।
घाइतेको शल्यक्रिया गरेर दिउँसो करिब एक बजेतिर डा. अरुण अस्पतालको आकस्मिक कक्षमा झरे। त्यो बेलासम्म अस्पताल बाहिर विध्वंश मच्चिसकेको थियो। अस्पताल अगाडि रहेको यातायात व्यवस्था विभाग र संसद भवन जलिसकेको थियो। अप्रेशन कक्षबाट उनी झर्दा २४ गते पनि अस्पतालको आकस्मिक कक्ष रणमैदानजस्तै बनेको देखे। आन्दोलनका क्रममा घाइते भएका व्यक्तिले अस्पतालको आकस्मिक कक्षमा खुट्टा हाल्ने ठाउँ थिएन।
गोली निधारमा भ्वाङ परेको देख्दा...
२४ गते पनि आन्दोलनमा परि गोली लागेर मारिएका व्यक्तिलाई अस्पताल पुर्याइएको थियो। २३ गतेको तुलनामा २४ गते गोली लागेका घाइतेको अवस्था अलि भिन्न देखिएको डा. अरुणले सुनाए। ‘२३ गते घाइते हुने मध्ये अधिकांशको कम्मर भन्दा तल गोली लागेको थियो,’डा. अरुणले भने,‘२४ गते घाइते भएका अधिकांशको छाती, टाउको जस्ता कम्मरभन्दा माथिको भागमा गोली लागेको देखिएको थियो।’
कसैको घाँटीमा पनि गोली लागेको थियो। केही भाग्यले बाँचेको देखियो। त्यही बीचमा एक जना टाउकामा गोली लागेर मारिएका युवालाई सिभिल अस्पताल पुर्याइएको थियो। टाउकोमा गोली लागेर मारिएका युवालाई अस्पताल पुर्याएको देखेपछि भने डा. अरुणको मन थामिएन। टाउकोमा गोली लागेर अगाडिको निधारको भागनै भ्वांङ परेर मृत्यु भएका युवाको त्यो क्षतविक्षत अवस्था देखेर उनको मन थामिएन। उनका आखाबाट आँसु खसे। ‘टाउकोमा गोली लागेर मृत्यु भएका युवाको निधारमा भ्वाँङ परेको थियो,’डा. अरुणले त्यो घटना सम्झँदै भने,‘त्यसरी मान्छे मार्न पाइन्छ ?।’ त्यो हृदयविदारक दृष्यले अस्पतालको आकस्मिक कक्षमा खटिएका अन्य स्वास्थ्यकर्मीको समेत आँखा रसाएको सम्झन्छन्, उनी। अस्पताल पुर्याउनु अघि नै ती युवाले प्राण त्यागिसेकेका थिए।
तर, डराएको मनले समेत मन कठोर बनाउने कोसिस गर्दै उनी लगायत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको टिमले घाइतेको उपचार गरि नै रह्यो।
त्यतिमात्रै कहाँ हो र? संसद भवन त जलेको अवस्था थियो। त्यसैले अस्पतालमा घाइतेको उपचार गरिरहँदा आक्रमणमा परेर मेरो पनि ज्यान जाने त हैन? भन्ने डर पनि मनमा लागि रह्यो। ‘आक्रमणमा परेर मरिने हो की! अस्पताल नै कोल्याप्स हुने होकी भन्ने डर लाग्यो,’उनले सुनाए।
डरकैबीच २४ गते राती साढे दश बजेसम्म घाइतेको उपचार गरेर घर फर्किएको डा. अरुणले सुनाए। त्यसपछिका दिनमा समेत घाइते लगायतको शल्यक्रिया र औषधि उपचारमा उनी जुटि नै रहे।
गोलीले खुट्टाको हड्डी छेडिएका ती युवा
त्यसैगरी खुट्टामा रबरको नभई बुलेट गोली नै लागेका एक जना युवाको अवस्था सम्झँदा समेत डा. अरुणको मन विक्षिप्त हुन्छ। ती युवाको बायाँ खुट्टामा गोली लागेर हड्डी नै छेडेर खुट्टा भित्र गोली अड्कीएको थियो। उनी सहित चिकित्सकको टिमले ती युवाको खुट्टाको शल्यक्रिया गरी खुट्टाको गोली निकाल्यो। २४ गते पनि बिहानैबाट उनीसहित चिकित्सकको टिम घाइतेको शल्यक्रिया र उपचारमा खटिइरह्यो।
एउटै शरीरमा आठ गोली
त्यसो त एक जना करिब २५ वर्षका देखिने युवाको हातमा लागेको आठ वटा गोली चिकित्सकको टिमले निकालेको समेत डा. अरुणले सुनाए। ‘एउटा भाइको आठ वटा गोली निकालियो,’उनले सुनाए,‘२/३ वटा छातीको वालमा र अरु हातमा थिए।’ ती युवा ठिक भएर डिस्चार्ज भएको समेत उनलाई याद छ।
घाइतेलाई परिवारले थाहा पाउने डर
सिभिल अस्पतालमा उपचार गरेकामध्ये अधिकांश घाइते नयाँ बानेश्वर, शान्तिनगर, बुद्धनगर र कोटेश्वर क्षेत्रमा बस्ने गरेको बताएको डा. अरुणले सुनाए। घाइतेहरुमध्ये अधिकांश होस्टल बसेर पढ्ने विद्यार्थी जस्तो देखिएको डा. अरुणले अनुभव सुनाए। सिभिल पुर्याइएकामध्ये विशेषगरी यी क्षेत्रमा डेरागरी बस्ने युवाहरुको चाप बाक्लै देखिएको उनले सुनाए। ती घाइतेहरुलाई आफ्नो दुखाइ लगायतको पिडा त छँदै थियो। आन्दोलनमा गएर घाइते भयो भनेको सुन्दा घरपरिवारले के भन्लान् भन्ने चिन्ता पनि उत्तीकै देखिन्थ्यो। घाइते हुनमध्ये धेरैले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई घरमा नभनिदिनु है भनेर अनुरोध गरेको डा. अरुणले सुनाए। अस्पतालमा पनि परिवारका सदस्य भन्दा धेरैजसो घाइतेका साथीभाईहरू नै उपचारका लागि समेत आएको देखिएको उनले सुनाए।
त्यसो त एक दशक अघि जनकपुरमा बम बिस्फोटमा परेका १४ जना घाइतेलाई त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा पुर्याइएको समेत उनी सम्झन्छन्। १४ जना घाइतेको उपचार गर्दा उनी त्यो उपचार टिममा एमएस विद्यार्थीका रुपमा सहभागी थिए।
२०७२ वैशाखमा गएको विनाशकारी भूकम्पमा परि घाइते भएका व्यक्तिलाई पनि उनले उपचार गरेका हुन्। त्यो बेला भएका घाइते र मृतकको अवस्था पनि कम हृदयविदारक थिएन। तर, जेनजी अन्दोलनमा परी घाइते र मृत्यु भएको घटना भने क्रूर र कहालीलाग्दो अवस्थाका रुपमा सम्झन्छन्, उनी। डा. अरुणको कामना छ अब त्यसरी चिकित्सकको टिमले रगतमा लतपतिएका घाइतेको उपचार गर्नुपर्ने क्रूर अवस्था ननिम्तियोस्।
काभ्रेमा जन्म, हाडजोर्नीमा रस
अब डा. अरुणको शैक्षिक र जागिरे जीवनको शिलशिलाको कुरा गरौं। २०३९ मा काभ्रेको नालामा जन्मिएका अरुण सानैबाट काठमाडौं बसे। उनले काठमाडौंको बुद्धनगरस्थित होलिल्याण्ड इन्टरनेश्नल स्कुलबाट २०५६ मा एसएलसी गरे। उनले ललितपुरस्थित पाटनको निष्ट कलेजबाट प्लस टु गरे।
अरुणलाई सानैबाट डाक्टर नै बन्ने सपना थियो। उनले त्यही अनुसार डाक्टरी विषय अध्ययनका लागि तयारी गरे। त्यसैले उनले काठमाडौं विश्वविद्यालय अन्तर्गत सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सन् २००१ मा भर्ना भएर एमबीबीएस अध्ययन थाले। सन् २००६ मा उनले एमबीबीएस सके। एमबीबीएस सकेपछि उनले केएमसीमा नै करिब एक वर्ष मेडिकल अधिकृतका रुपमा काम गरे। आफूले काठमाडौं उपत्यकाका करिब पाँच किलोमिटर वरिपरि नै अध्ययन गरेको र यहीँ जागिर पनि पाएको उदाहरण दिँदै नेपालमा केही पनि छैन भन्ने भाष्य सृजना गर्नु गलत हुने उनले अनुभव सुनाए।
डा. अरुणलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले उनले त्रिभूवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तर तहको ‘अर्थोपेडिक एण्ड ट्रमा सर्जरी’ विषयमा एमएस अध्ययन गर्न थाले। यो विशेषज्ञलाई नेपालीमा ‘हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा समेत चिनिन्छ। एमएस सकिनासाथ उनी सन् २०१३ मा सिभिल अस्पतालमा जागिरे पनि भइहाले। करिब दुई वर्ष अघि स्थायी भएका डा. अरुण १३ वर्ष यता निरन्तर सिभिल अस्पतालमा नै कार्यरत छन्।
असोज ११, २०८२ शनिबार १८:३५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।