शारजाह स्टेडियमबाट पारस- नेपाली क्रिकेटको नयाँ अध्याय सुरू हुँदैछ, खेलाडीको हौसला बढाइदिनुहोला

शारजाह स्टेडियमबाट पारस- नेपाली क्रिकेटको नयाँ अध्याय सुरू हुँदैछ, खेलाडीको हौसला बढाइदिनुहोला

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको गेरवशाली इतिहासमा आजबाट एक नयाँ अध्याय कोरिन लागेको बताएका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट स्टेडियमबाट भिडियो सन्देश जारी गर्दै उनले नेपाली क्रिकेटलाई अझ गौरवमय यात्रातर्फ अघि बढाउने दृढता व्यक्त गरे।

खड्काले भने, ‘नेपाली क्रिकेटको गौरवशाली कथामा आजबाट नयाँ अध्याय कोरिँदै छ। यो स्वर्णिम यात्रामा सबैको साथ र समर्थन आवश्यक छ। हाम्रा खेलाडीहरूको हौसला बढाईदिनुहोस्।’ 

आईसीसी टी-२० विश्वकप २०२६ को एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।

‘युनिटी कप’ नाम दिइएको यो सिरिज आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालले खेल्न लागेको पहिलो द्विपक्षीय टी-२० सिरिज हो।

शारजाह मैदानमा हुने पहिलो खेल नेपाली समयअनुसार आज राति ८:१५ बजे शुरू हुनेछ। एक वर्षअघि वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेलेको नेपालका लागि सिनियर टोलीविरुद्धको यो सिरिज जितभन्दा पनि सिक्ने र विश्वकप छनोटअघि आत्मविश्वास बढाउने महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

यस सिरिजका लागि वेस्ट इन्डिजले आफ्ना अनुभवी खेलाडीलाई आराम दिँदै पाँच नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा पहिलो पटक मौका दिएको छ। यसले नेपाललाई आफ्नो क्षमता प्रदर्शन गर्ने र बलियो प्रतिस्पर्धा प्रस्तुत गर्ने राम्रो अवसर प्रदान गर्नेछ।

वेस्ट इन्डिजसँगको सिरिजलगत्तै नेपाली टोली विश्वकप छनोट खेल्न ओमान प्रस्थान गर्नेछ। ओमानमा आयोजना हुने छनोट प्रतियोगितामा कुल नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कुवेत र जापान छन्।

समूह चरणबाट शीर्ष दुईमा रहँदै नेपाल ‘सुपर-६’ मा पुग्ने लक्ष्यमा हुनेछ। सुपर-६ का शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ मा स्थान बनाउनेछन्। यदि छनोट भएमा यो नेपालको तेस्रो विश्वकप सहभागिता र लगातार दोस्रो हुनेछ।

असोज ११, २०८२ शनिबार १६:०४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।