ओलीको प्रश्न- अझै पनि घरको लोकेशन देखाएर घेर्न जाऔं भन्दैछन्, सरकार के हेरेर बसेको छ?

काठमाडौं : एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफूलाई सुविधा नदिए पनि सुरक्षाको पूर्ण प्रत्याभूति दिनुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमा आफ्नो घरको लोकेशन सार्वजनिक गरी घेराउ गर्न आह्वान हुँदा पनि सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार भक्तपुरमा आयोजित एक चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो सुरक्षाप्रति सरकार गम्भीर नभएको आरोप लगाए।
‘अहिले तपाईंहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला, केपी ओलीको घरको लोकेशन देखाएर घेर्न जाऔं भनिएको छ। सरकार के हेरेर बसेको छ?’, उनले प्रश्न गरे।
सरकार आफ्नो कर्तव्यबाट विचलित भएर सुविधा खोस्ने र मुद्दा चलाउने जस्ता काममा मात्र केन्द्रित भएको उनको टिप्पणी थियो।
‘सरकार सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा चलाउँछु भन्छ। तर उसको कर्तव्य हुँदैन? असुरक्षा र आतंक फैलाएर सत्तामा पुग्ने अनि अरूलाई सुरक्षा दिन्नँ भन्ने?’ ओलीले भने।
सम्बोधनकै क्रममा उनले देशभक्तिको पक्षमा बोल्नेहरूलाई सामाजिक सञ्जालमा ‘झोले’ को संज्ञा दिएर चरित्रहत्या गर्ने ‘ट्रेन्ड’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारका झूट र भ्रम फैलाउने काम भइरहेको छ। देशभक्तिको पक्षमा बोल्यो कि ‘झोले’ भनेर ट्रेन्ड चलाइहाल्ने प्रवृत्ति बढेको छ’, उनले भने।
उनले एमाले नेतृत्वको सरकारले देश विकासमा ऐतिहासिक काम गरेको दाबी गर्दै वर्तमान राजनीतिक परिस्थितिलाई मौसमसँग तुलना गरे।
‘खैर, म भन्न चाहन्छु, मौसम सधैँ एकनास हुँदैन। झरी-बादलको समयपछि फेरि मुसुक्क हाँस्ने दिन आउँछ’, उनले भने।
असोज ११, २०८२ शनिबार १३:४१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।