जेन-जी आन्दोलनको प्रभाव: बागलुङ कालिका मन्दिरमा दर्शनार्थी आधा घटे

जेन-जी आन्दोलनको प्रभाव: बागलुङ कालिका मन्दिरमा दर्शनार्थी आधा घटे

बागलुङ : प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा यस वर्षको नवरात्रमा दर्शनार्थीको संख्यामा भारी गिरावट आएको छ।

गत भदौमा देशभर भएको जेन-जी आन्दोलनका कारण यस वर्ष भक्तजनको आगमन झण्डै ५० प्रतिशतले घटेको मन्दिर व्यवस्थापनले जनाएको छ।

विगतका वर्षहरूमा नवरात्र सुरु भएसँगै दैनिक हजारौँ भक्तजनले भरिभराउ हुने मन्दिर परिसर यसपटक भने तुलनात्मक रूपमा सुनसान देखिएको छ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार, गत वर्षको बडादसैँमा मात्रै चार लाखभन्दा बढीले दर्शन गरेका थिए, तर यसपटक त्यो उत्साह देखिएन।

‘अघिल्ला वर्षहरूको तुलनामा यस वर्षको नवरात्रमा भक्तजनको उपस्थिति ५० प्रतिशतले कम भयो,’ अध्यक्ष खड्काले भने, ‘गत भदौको आन्दोलनले धेरैको मनमा उल्लास छैन, जसको प्रत्यक्ष असर धार्मिक स्थलहरूमा परेको हाम्रो अनुमान छ।’

मनोकामना पूरा हुने गहिरो विश्वासका साथ देशका विभिन्न भागबाट भक्तजनहरू यहाँ पूजाआजा र पञ्चबलीका लागि आउने गर्छन्।

विशेषगरी बडादसैँ र चैते दसैँमा मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ। गुठीले दर्शनार्थीको सहजताका लागि लाइन, बली व्यवस्थापन, सहायता कक्ष र प्रसाद वितरणजस्ता सबै प्रबन्ध गरे पनि भक्तजनको उपस्थिति भने निराशाजनक रह्यो।

यो मन्दिरको ऐतिहासिक पृष्ठभूमि वि.सं. १५९१ सँग जोडिएको छ। पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्दा दाइजोस्वरूप कालिका भगवतीलाई ल्याएर यहाँ स्थापना गरेको किंवदन्ती छ।

असोज ११, २०८२ शनिबार १२:१४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।