नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी-२० सिरिज आजदेखि

काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ को एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।
‘युनिटी कप’ नाम दिइएको यो सिरिज आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालले खेल्न लागेको पहिलो द्विपक्षीय टी-२० सिरिज हो।
शारजाह मैदानमा हुने पहिलो खेल नेपाली समयअनुसार आज राति ८:१५ बजे शुरू हुनेछ। एक वर्षअघि वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेलेको नेपालका लागि सिनियर टोलीविरुद्धको यो सिरिज जितभन्दा पनि सिक्ने र विश्वकप छनोटअघि आत्मविश्वास बढाउने महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ।
यस सिरिजका लागि वेस्ट इन्डिजले आफ्ना अनुभवी खेलाडीलाई आराम दिँदै पाँच नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा पहिलो पटक मौका दिएको छ। यसले नेपाललाई आफ्नो क्षमता प्रदर्शन गर्ने र बलियो प्रतिस्पर्धा प्रस्तुत गर्ने राम्रो अवसर प्रदान गर्नेछ।
वेस्ट इन्डिजसँगको सिरिजलगत्तै नेपाली टोली विश्वकप छनोट खेल्न ओमान प्रस्थान गर्नेछ। ओमानमा आयोजना हुने छनोट प्रतियोगितामा कुल नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कुवेत र जापान छन्।
समूह चरणबाट शीर्ष दुईमा रहँदै नेपाल ‘सुपर-६’ मा पुग्ने लक्ष्यमा हुनेछ। सुपर-६ का शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ मा स्थान बनाउनेछन्। यदि छनोट भएमा यो नेपालको तेस्रो विश्वकप सहभागिता र लगातार दोस्रो हुनेछ।
असोज ११, २०८२ शनिबार ०९:५६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।