कर्णालीमा जेन-जी आन्दोलनमा घाइते : प्रहरीको गोलीले गुम्यो सन्तोषको आँखा, दिलबहादुरको घाँटीमा भ्वाङ

कर्णालीमा जेन-जी आन्दोलनमा घाइते : प्रहरीको गोलीले गुम्यो सन्तोषको आँखा, दिलबहादुरको घाँटीमा भ्वाङ

सुर्खेत : भदौ २४ गतेको त्यो दिउँसो वीरेन्द्रनगर-२ ठौरीका २६ वर्षीय सन्तोष बोहोराका लागि अरू दिनजस्तै सामान्य थियो। घरबाहिर चलिरहेको आन्दोलनको भीड हेर्न निस्किएका उनलाई के थाहा, एकैछिनमा उनको संसार अँध्यारो हुँदैछ भनेर।

प्रहरीले चलाएको गोली उनको दाहिने आँखामा लाग्यो र उनको उज्यालो संसारमा कहिल्यै नमेटिने अन्धकार छायो। चिकित्सकहरूले उनका दुवै आँखाले अब कहिल्यै देख्न नसक्ने पुष्टि गरिसकेका छन्।

नेपालगञ्ज शिक्षण अस्पतालको आईसीयु बेडमा पल्टिरहँदा सन्तोष अरूको सहाराबिना उठबस गर्न समेत सक्दैनन्। उनको छेउमा बसेकी श्रीमती निर्मला बोहोरा आफ्ना दुई वर्षीय छोरीको भविष्य र श्रीमानको अवस्था सम्झेर भक्कानिन्छिन्।

‘उहाँ (श्रीमान्) कोरिया गएर परिवारलाई खुसी राख्ने सपना देख्नुहुन्थ्यो,’ आँसु पुछ्दै उनी भन्छिन्, ‘त्यो गोलीले उहाँको आँखा मात्र होइन, हाम्रो सिंगो परिवारको सपना र भविष्य पनि खोसिदियो।’

अस्पतालले उपचार निःशुल्क गरे पनि बाहिरबाट किन्नुपर्ने औषधि र अन्य खर्च जुटाउन परिवारलाई धौ-धौ परेको छ। भेटनरी पढे पनि जागिर नभएकी निर्मलाको काँधमा अब श्रीमानको उपचार, सासुससुरा र सानी छोरीको सम्पूर्ण जिम्मेवारी आइलागेको छ।

निर्मलाको गुनासो छ, ‘अहिलेसम्म सान्त्वना दिन कोही आएको छैन, कसैले वास्ता गरेनन्।’

यो पीडा सन्तोषको परिवारको मात्र होइन। भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै देशभर फैलिएको जेन-जी आन्दोलनको आगोले कर्णालीका धेरै युवाका सपना डढाएको छ। दैलेख, दुल्लूका २१ वर्षीय दिलबहादुर खत्री पनि त्यही दिन प्रहरीको गोलीबाट घाइते भए। घाँटी र हातमा लागेको गोलीको घाउ निको हुन थाले पनि मनको घाउ भने गहिरिँदै गएको छ।

कर्णाली प्रदेश अस्पतालमा निःशुल्क उपचारपछि घर फर्किए पनि रोजगारी गुम्ने डर र भविष्यको चिन्ताले उनलाई सताइरहेको छ। कोरिया जाने सपना साँचेर भाषा पढिरहेका उनी भन्छन्, ‘देशमा केही परिवर्तन होला भनेर आन्दोलनमा गएको थिएँ, तर अहिले आफ्नै सपना टुट्यो कि जस्तो लाग्छ।’

भदौ २३ र २४ गतेको आन्दोलनले परिवर्तनको नारा त लगायो, तर त्यसको मूल्य चुकाउनेहरू अहिले अस्पतालको बेडमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्। प्रहरीको तथ्यांकअनुसार, कर्णाली प्रदेशमा मात्र ३५ जना घाइते भए, जसमध्ये १८ जनालाई गोली लागेको थियो।

आन्दोलनको क्रममा २९ सरकारी कार्यालय, २० पार्टी कार्यालय र ८ घरमा आगजनी तथा तोडफोड भयो। तर, भौतिक क्षतिको यो आँकडाभन्दा कयौँ गुणा ठूलो क्षति ती युवाहरूको जीवनमा भएको छ, जसका आँखा र शरीरमा लागेको चोटले उनीहरूको भविष्य नै अनिश्चित बनेको छ।

आज यी घाइतेका परिवारहरू समाज र सरकारसँग सहयोगको याचना गरिरहेका छन्। सुर्खेतका अभियन्ता नवराज बोहोरा जस्ता केही व्यक्तिहरू उपचारका लागि सहयोग अभियान चलाइरहेका छन्।

निर्मला भन्छिन्, ‘आन्दोलनले देशमा परिवर्तन ल्यायो होला, तर हाम्रो सर्वस्व गुम्यो। अब सरकारले घाइतेको उपचार र हाम्रो परिवारको भविष्यको जिम्मा लिनुपर्छ।’

देशमा परिवर्तनको नारा गुन्जिरहँदा, यी युवाहरू भने आफ्नो टुटेको सपना र अनिश्चित भविष्यसँग जुधिरहेका छन्। उनीहरूको अनुत्तरित प्रश्न छ- ‘हाम्रो उजाडिएको जीवनको जिम्मेवारी कसले लिन्छ?’

असोज ११, २०८२ शनिबार ०९:०६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।