सर्लाहीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, एक जना घाइते

सर्लाही : सर्लाहीको हुलाकी सडक खण्डमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। ब्रह्मपुरी गाउँपालिकामा शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार, पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एमएच ०४ डिजे १२९७ नम्बरको भारतीय स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रहरीले मोटरसाइकलमा तीन जना सवार रहेको जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ब्रह्मपुरी-२ का २३ वर्षीय अंकित चौधरी र सोही ठाउँका २५ वर्षीय रोहित सहनीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। गम्भीर घाइते भएका चौधरीको जनकपुरस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुवै जनाको शव हाल प्रादेशिक अस्पताल, मलंगवामा राखिएको छ।
मोटरसाइकलको पछाडि सवार २३ वर्षीय शिवशंकर पण्डित घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि बाराको एलएस न्युरो अस्पताल पठाइएको छ।
दुर्घटनालगत्तै स्कारपियो चालक फरार भएका छन्। प्रहरीले ठक्कर दिने स्कारपियो र दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। फरार चालकको खोजी कार्यका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जानकारी दिएको छ।
असोज ११, २०८२ शनिबार ०८:२३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।