सुपर ओभरमा श्रीलंकालाई भारतले एक बलमै हरायो

एजेन्सी : एसीसी टी-२० एसिया कप २०२५ अन्तर्गत सुपर फोरको रोमाञ्चक खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा पराजित गरेको छ। दुबई क्रिकेट रंगशालामा भएको खेलमा २ सय ३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले पनि निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएपछि खेल बराबरीमा सकिएको थियो।
त्यसपछि नतिजाका लागि भएको सुपर ओभरमा भारतले बाजी मार्यो। श्रीलंकाले दिएको ३ रनको सामान्य लक्ष्य भारतले पहिलो बलमै पूरा गर्यो। वानिन्दु हसरंगाको पहिलो बलमा सूर्यकुमार यादवले तीन रन बटुल्दै भारतको जित सुनिश्चित गरे।
यसअघि सुपर ओभरमा पहिले ब्याटिङ गरेको श्रीलंकाले मात्र २ रन बनाउन सक्यो। पहिलो बलमै कुशल परेरा आउट भए भने दासुन शानका पनि अन्तिम बलमा क्याच आउट भएपछि श्रीलंका सामान्य स्कोरमा समेटिएको थियो।
खेलको अन्तिम ओभरमा श्रीलंकालाई जितका लागि १२ रन आवश्यक थियो। तर, तीव्र गतिका बलर हर्षित रानाले ११ रन मात्र खर्चिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। अन्तिम दुई बलमा ७ रन चाहिँदा दासुन शानकाले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन मात्र जोड्न सके।
श्रीलंकाका लागि ओपनर पाथुम निसांकाले उत्कृष्ट शतकीय पारी खेले। उनले ५८ बलमा ७ चौका र ६ छक्कासहित १ सय ७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। कुशल परेराले पनि ५८ रनको महत्त्वपूर्ण योगदान दिए। यी दुईबीच दोस्रो विकेटका लागि १ सय २७ रनको शतकीय साझेदारी भएको थियो।
भारतका लागि हार्दिक पान्ड्या, अर्शदीप सिंह, कुलदीप यादव र बरुण चक्रवर्तीले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो। भारतका लागि ओपनर अभिषेक शर्माले ३१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए।
यस्तै, तिलक बर्माले ४९ तथा सञ्जु स्यामसनले ३९ रन बनाएका थिए। श्रीलंकाका महेश थिक्सेना, दुश्मन्था चामिरा, वानिन्दु हसरंगा, दासुन शानका र चरिथ असलंकाले १-१ विकेट लिए।
यो जितसँगै अपराजित रहेको भारतले आइतबार हुने फाइनलमा पाकिस्तानसँग खेल्नेछ। सुपर फोरका अन्य खेलमा पाकिस्तान र बंगलादेशसँग पराजित भएको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेको छ।
असोज ११, २०८२ शनिबार ०७:०३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।