शीतल निवासमा राष्ट्रपतिसँग एमालेका तीन नेताको गुनासो “अन्तरिम सरकारले दललाई वास्ता गरेन”

काठमाडौं : एमालेका शीर्ष तीन नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर अन्तरिम सरकारले दलहरूलाई किनारामा पारेर अगाडि बढ्ने प्रयास गरेको भन्दै आलोचना गरेका छन्।
जेन-जी पुस्ताको आन्दोलनपछि पहिलो पटक बिहीबार शीतलनिवासमा भएको छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल सहभागी थिए।
उनीहरूले निर्वाचन गर्ने म्याण्डेड पाएको सरकार दलहरूलाई पन्छाएर अगाडि बढ्ने प्रयासमा रहेको भन्दै राष्ट्रपति पौडेललाई संवैधानिक सिमानाभित्र बसेर पनि राष्ट्रपतिले भूमिका निर्वाह गर्न सक्ने बताएका थिए।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर राष्ट्रपतिलाई भेट्न गएका उनीहरूले संविधान र लोकतान्त्रिक व्यवस्था सुरक्षित रहेको तर सरकारले तोकिएको मितिमा निर्वाचन गर्नेमा भने शङ्का रहेको बताएका थिए। सरकार नै दलहरूलाई कमजोर बनाउनतिर लागेको उनीहरूको शङ्का थियो।
भेटमा राष्ट्रपतिले आफूले कठिन समय सम्हालेर निर्वाचनको बाटो खोलेको भन्दै निर्वाचनमा सहभागी हुन एमाले नेताहरूलाई सुझाव दिएको शीतल निवासस्रोतले बतायो।
“उहाँहरूमा सरकारको कामबारे शङ्का थियो। राष्ट्रपतिज्यूले निर्वाचनको म्याण्डेड पाएको सरकार भएकाले निर्वाचनमै केन्द्रित हुने र त्यसका लागि आफूले सहजीकरण गर्ने बताएर आश्वस्त बनाउने प्रयास गर्नुभयो” स्रोतले भन्यो “ सरकारले दलहरूसँग संवाद अगाडि नबढाएकोमा उहाँहरूमा शङ्का देखियो। राष्ट्रपतिज्यूले लोकतन्त्रमा दललाई अवज्ञा गर्न नसकिने बताउनुभयो।”
असोज १०, २०८२ शुक्रबार २३:१७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।