१० दिनभित्र कारागार फर्कन फरार कैदीबन्दीलाई सरकारको ‘अल्टिमेटम’, नफर्किए कारबाही हुने

काठमाडौं : सरकारले जेनजी आन्दोलनका क्रममा विभिन्न कारागार र सुधारगृहबाट भागेका कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ। गृह मन्त्रालयले आजैदेखि विशेष खोजी तथा पक्राउ अभियान सुरु गरेको बताएको छ।
मन्त्रालयका अनुसार फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन र कारागार फिर्ता ल्याउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलमा स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरू समेत रहनेछन्।
फरार कैदीबन्दीको नामावली सम्बन्धित जिल्लाको कार्यदलले अरू जिल्लाको कार्यदललाई समेत उपलब्ध गराउने विभागले जनाएको छ। जिल्लाभित्र विद्यालय, क्याम्पस, टोलरक्लब, सार्वजनिकलगायत सवारीसाधन, बसपार्क, मनोरञ्जनस्थल, सीमानाका तथा आवश्यक देखिएका अन्य स्थानमा समेत कैदीबन्दीको नामावली पठाई खोजतलास तथा निगरानीलाई सघन बनाइने बताइएको छ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा २८ वटा कारागार र नौवटा बाल सुधारगृहबाट १४ हजार ५५३ बन्दी फरार भएका थिए। विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार हालसम्म ८ हजार १९९ जना फर्किएका छन् भने अझै ६ हजार ३५४ जना फरार छन्।
हाल देशभर ७२ जिल्लाका ७५ कारागारमा ३० हजार ६४६ कैदीबन्दी रहेका छन्। धनुषा, बारा, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पूर्वी रुकुममा भने कारागार छैन।
मन्त्रालयले फरार बन्दीबारे सूचना दिने व्यक्तिलाई सहयोग गर्ने र लुकाउने वा आश्रय दिनेहरूलाई कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ। साथै, कार्यदलले दैनिक अभिलेख अद्यावधिक गरी गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, अध्यागमन, वैदेशिक रोजगार विभागलगायत निकायलाई जानकारी दिने व्यवस्था मिलाइएको छ।
सरकारले क्षतिग्रस्त कारागार मर्मत तथा अवस्थालाई सामान्य बनाउन काम अघि बढाएको र फरार बन्दी फिर्ता ल्याउने अभियानलाई अझ प्रभावकारी बनाउन सबै निकायसँग समन्वय गरिने जनाएको छ।
असोज १०, २०८२ शुक्रबार २०:१४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।