नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा कम्पनी सञ्चालक समितिका अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा आज काठमाडौंमा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ।
सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको रूपमा पि. एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। अध्यक्ष कयालले कम्पनीलाई उदाहरणीय कम्पनी बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासन, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, तालिम र अनुसन्धान, वैज्ञानिक लगानी विविधिकरण तथा विश्वव्यापी लगानी अभ्यासलाई अवलम्बन गर्दै काम भैरहेको जानकारी दिए।
प्रमुख कार्यकारी अधिकृत श्री सुभाष थापाले गत आर्थिक वर्षको कार्य प्रगति र आगामी वर्षका रणनीतिक योजना प्रस्तुत गरेका थिए। सभा क्रममा मुख्य कम्पनीका संचालक कमलेश कुमार अग्रवालले नेपाल लाइफ इन्स्योरेन्सको पूर्ण स्वामित्व रहेको कम्पनीमा बीमितको रकम सुरक्षित रूपमा लगानी गरी राम्रो प्रतिफल लिन व्यवस्थापनलाई आग्रह गरे।
मुख्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पनि मूल लगानीको सुरक्षा, सही समयमा र सही स्थानमा लगानी गर्ने रणनीति अपनाउन सुझाव दिए।
सभाले पहिलो वार्षिक साधारण सभासम्म नियुक्त संचालकहरूलाई धन्यवाद ज्ञापन गर्दै, मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्सबाट सिफारिस भएका चार जना (कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाल) लाई नयाँ संचालकको रूपमा अनुमोदन गरेको छ।
त्यसै दिन बसेको संचालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ र सबै नवनियुक्त संचालकहरूले पदबहाली गरेका थिए।
असोज १०, २०८२ शुक्रबार १९:४८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।