जीवन बीमक संघ नेपालमा नयाँ कार्यसमिति गठन, प्रवीण रमण पराजुली अध्यक्ष चयन

काठमाडौं : जीवन बीमक संघ नेपालले २०८२ भदौ २९ गते काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति गठन गरेको छ। सभाले सर्वसम्मत रूपमा श्री प्रवीण रमण पराजुलीलाई संघको अध्यक्ष चयन गरेको जनाएको छ।
श्री पराजुली हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल), कोषाध्यक्षमा दिनेश लाल श्रेष्ठ (एशियन लाइफ) चयन भएका छन्। साथै सदस्यमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान) र प्रणय कुमार (एलआइसी नेपाल) रहेका छन्।
संघको नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा नेपाली बीमा क्षेत्रको विकास, बीमा सचेतना अभियान, जीवन बीमा कर्मचारीको क्षमता अभिवृद्धि, हकहित संरक्षण, सर्वसुलभ बीमा सेवा विस्तार र बीमित हितका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
सभामा संघका सदस्य र विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा जीवन बीमा क्षेत्रमा देखिएका चुनौती, सम्भावना र संघको भावी रणनीतिबारे समेत छलफल गरिएको थियो।
असोज १०, २०८२ शुक्रबार १९:१५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।