करिब एक महिना ठप्प पोखरा-जोमसोम हवाई सेवा आजदेखि खुल्यो

करिब एक महिना ठप्प पोखरा-जोमसोम हवाई सेवा आजदेखि खुल्यो

मुस्ताङ : करिब एक महिनापछि रोकिएको पोखरा-जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ। प्रतिकूल मौसम र जेनजी युवाहरूको प्रदर्शनका कारण अवरुद्ध बनेको यो सेवा मौसम अनुकूल भएसँगै र पर्यटन याम सुरु भएपछि फेरि सुरु भएको हो।

समिट एयरलाइन्सका जोमसोम स्टेशन इन्चार्ज सुमन थकालीका अनुसार आजदेखि समिट एयरको ट्विनअटर जहाजले नियमित उडान थालेको छ। पहिलो दिनमै दुई वटा उडान गरिएको छ, जसमा १० भारतीयसहित अन्य तेस्रो मुलुकका २४ जना विदेशी पर्यटक बोकेर सेवा सञ्चालनमा ल्याइएको उनले बताए।

‘जेनजी प्रदर्शनअघि पनि लगातार प्रतिकूल मौसमका कारण उडान हुनसकेको थिएन,’ थकालीले भने, ‘प्रदर्शनपछि भारतीय सीमानाका बन्द हुँदा बुकिङ भएका टिकटहरू रद्द भए, त्यसले पनि सेवा प्रभावित बनायो। तर अहिले परिस्थिति सामान्य हुँदै गएको छ र विदेशी पर्यटकले टिकट बुकिङ गर्न थालेका छन्।’ 

जोमसोम नागरिक उड्डयन कार्यालय प्रमुख दीपक पोखरेलले पनि समिट एयरको जहाजले दुई उडान गरिसकेको र नेपाली सेनाको ट्विनअटर जहाज माउन्टेन वारफेयर तालिम सकाएर फर्किन लागेको स्वदेशी तथा विदेशी सैनिकलाई लिन अवतरण गरेको जानकारी दिए।

यता तारा एयरलाइन्सले पनि नियमित सेवा सञ्चालन गर्ने तयारी थालेको छ। जोमसोमस्थित स्टेसन इन्चार्ज सुजन लालचनका अनुसार तारा एयरले अक्टोबर १ देखि सेवा सुरु गर्ने योजना बनाएको छ।

हवाई सेवा पुनः सञ्चालन भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन्। होटल मेजस्टीका सञ्चालक निसान तुलाचनले भने, ‘प्रदर्शनका कारण थिलोथिलो बनेको पर्यटन व्यवसाय अब हवाई सेवा चलायमान भएपछि फेरि गतिशील हुने आशा छ।’

असोज १०, २०८२ शुक्रबार १८:५२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।