‘दलका नेताहरू बाहिर धेरै बोल्छन्, भित्र केही गर्न सक्दैनन्’

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका नेताहरूले बाहिर धेरै बोल्ने तर आफ्नै पार्टीभित्र केही गर्न नसक्ने भन्दै आलोचना गरेकी छिन्।
शुक्रबार काठमाडौँमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षालाई पहिचान गरी त्यसलाई सम्बोधन गर्न दल र नेताहरूले प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
‘दलका नेताहरूले बाहिर धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने भन्ने आलोचना छ। त्यसैले सबैको कुरा सुन्नुपर्छ र पार्टीको मर्मअनुसार काम भएको छ कि छैन भन्ने आत्ममूल्यांकन गर्नुपर्छ,’ उनले भनिन्।
पूर्वराष्ट्रपति भण्डारीले सधैं मुलुक यस्तो अनिश्चिततामा रहिरहन नसक्ने बताउँदै समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याइन्। उनका अनुसार शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई नयाँ युगको अपेक्षाअनुसार अघि बढाउन जरुरी छ।
‘शक्तिको मूल स्रोत जनता हुन्। उनीहरूको बीचमा गएर नीति, दर्शनअनुसार कार्यक्रम गर्नुपर्छ। जनताले दिएका सुझावलाई आधार बनाएर अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘पार्टीबीचको समन्वय र सहकार्य आवश्यक छ। विभिन्न आस्था भएका पक्षबीच छलफल र सहकार्य भएमात्रै समस्याको समाधान सम्भव हुन्छ।’
पूर्वराष्ट्रपतिले मुलुकलाई अहिलेको युग सुहाउँदो विकास, स्थायित्व र सहकार्यतर्फ उन्मुख गर्न सबै दललाई गम्भीर ध्यान दिन आग्रह गरिन्।
असोज १०, २०८२ शुक्रबार १८:१२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।