माओवादीले आफ्नो पार्टीको नेता-कार्यकर्ताको सम्पत्ति आफैँले छानबिन गर्ने

माओवादीले आफ्नो पार्टीको नेता-कार्यकर्ताको सम्पत्ति आफैँले छानबिन गर्ने

काठमाडौं : नेताहरूको सम्पत्ति छानबिनको माग बढिरहेको बेलामा माओवादी केन्द्रले आफ्नो नेताहरूको सम्पत्तिको छानबिन आफैंले गर्ने निर्णय गरेको छ। जेन-जी आन्दोलनकोक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको छोरी गंगाको घरमा नोटको थुप्रो जलेको दाबीहरू सार्वजनिक भइरहेको बेलामा बैठकले पार्टीका नेता-कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय समेत गरेको छ। 

आयोगको संरचना र नेतृत्वबारे भने बैठकले निर्णय गरेको छैन। माओवादीले यस अगाडि पनि नेता तथा कार्यकर्ताको सम्पत्तिको छानबिन गराए पनि प्रतिवेदन भने गोप्य राखेको थियो। शुक्रवारको बैठकमा अध्यक्ष प्रचण्डको महँगो घडी र उनको छोरीले बोक्ने महँगो ब्यागबारे समेत प्रश्न उठेको थियो।

मंसिरमा पार्टी महाधिवेशन

पार्टीको सातौं पूर्ण बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउँदै पार्टीको महाधिवेशन मंसिरमा गर्ने निर्णय समेत गरेको छ। बैठकको निर्णय अनुसार अहिलेको पदाधिकारी नै महाधिवेशन आयोजक समितिको सचिवालयमा बदलिने छ। यसको नेतृत्व प्रचण्ड नै गर्ने छन्।

नेपोटिजमबारे कार्यविधि बन्ने

जेन-जी पुस्ताको आन्दोलन अगाडि सामाजिक सञ्जालमा फैलिएको नेपो बेबी अभियानमा प्रचण्डको छोरी र नातिनीहरूको महँगो जीवनशैलीबारे युवा पुस्ताले आलोचना गर्दै सम्पत्तिको स्रोतबारे प्रश्न गरेका थिए। बैठकले पार्टीभित्र नातावाद हुर्किएको भन्दै आलोचना भइरहेको बेलामा पार्टीले ‘नेपोटिज्म’बारे कार्यविधि बनाएर पारिवारिक सदस्यहरूलाई जिम्मेवारी दिने विषयमा निर्णय लिने भएको छ। जेन-जी पुस्तालाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी  गराउने समेत बैठकले निर्णय गरेको छ। 

असोज १०, २०८२ शुक्रबार १८:०६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।