केन्द्रीय समिति बैठकपछि प्रचण्डले भने- म अब पार्टीको अध्यक्ष रहिँन

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब पार्टीको अध्यक्ष नरहेको बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठक सकेर फर्किने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले अब आफू अध्यक्ष नभएको भन्दै संयोजक मात्र रहेको बताए।
बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार ‘प्रचण्ड’को प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सम्पन्न भएको हो।
बैठकले प्रचण्डले राखेको प्रस्ताव अनुसार केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ। यससँगै माओवादी केन्द्रीय समिति औपचारिक रूपमा महाधिवेशन आयोजक समितिमा परिणत भएको छ ।
त्यस्तै, प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि सदर भएको छ। तर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने प्रतिनिधि सभाको निर्वाचन (फागुन २१) पछि महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेका थिए ।
नेतृत्वसम्बन्धी बहसमा प्रचण्डले अध्यक्ष पद छोडेर कार्यवाहक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए, तर यो प्रस्ताव अस्वीकृत भएको छ । त्यस्तै, उपमहासचिव जनार्दन शर्माले हालका पदाधिकारीलाई निर्देशक समितिमा रूपान्तरण गरी नयाँ टिम ल्याउने सुझाव दिएका थिए, तर उनको प्रस्ताव पनि अस्वीकृत भएको छ।
बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले गम्भीर रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले सम्पत्ति छानबिन आयोग गठन गरेर माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा पनि गरेका छन्।
असोज १०, २०८२ शुक्रबार १७:५२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।