नक्कली भुटानी शरणार्थीको अनुसन्धानमा एआइजी मनोजको दोस्रो परीक्षा

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्याल शुक्रवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुगमनमा गरेर राजनीतिक दबाबमा अनुसन्धान हुन नसकेको घटनाको अनुसन्धान गर्न निर्देशन दिए। उनले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङसँगै ब्यूरो प्रमुख डा मनोज केसीलाई राजनीतिक दबाबमा हुन नसकेको अनुसन्धान सुरु गर्न निर्देशन दिएका थिए।
डा केसी उनै प्रहरी अधिकृत हुन् जो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी जालोको अनुसन्धान गरेका थिए। उता जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका तत्कालीन एसएसपी दानबहादुर कार्की समेत यो अनुसन्धानमा संलग्न थिए।
दुवैले गरेको अनुसन्धान तत्काल गृहमन्त्री बालकृष्ण खाणसम्म पुगेको थियो। पछि कांग्रेस र एमाले नेतृत्वमा सरकार बनेपछि यी दुवैको सरुवा भएको थियो। अहिले केसी एआइजी भएर ब्यूरोमा छन् भने कार्की पनि एआइजी भएर उपत्यका प्रहरी कार्यालयमा छन्। संयोग अबको एक महिनामा यही ब्याचबाट भावी प्रहरी महानिरीक्षकको चयन हुनेछ।
शुक्रवार गृहमन्त्री अर्यालको निर्देशनपछि केसीको चुनौती उनले गरेको अनुसन्धानमा तानिएका तर अभियोजनमा नपरेका प्रभावशालीहरूमाथिको अनुसन्धान देखिन्छ। यसमा सबैभन्दा प्रभावशाली हुन् आरजु राणा जो जेन-जी आन्दोलनमा घरमै कुटिएकाले अहिले उपचारकाक्रममा अस्पतालमा छिन्।
उनी र मञ्जु खाणले साढे आठ करोड लिएको अडियो अनुसन्धानको प्रारम्भमै खुले पनि यी दुबैमाथि प्रहरीले अनुसन्धान गर्ने आँट गरेन। आरजु टिकापुर जग्गा प्रकरणमा समेत जोडिएकी छिन्। आरजुले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू संलग्न नभएको दाबी गर्दै आएकी छिन्। उनी कांग्रेस-एमालेको सरकारमा परराष्ट्रमन्त्री नै बनिन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि अनुसन्धानको दायरामा नआएका अर्का नेता हुन् एमालेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा र उनको श्रीमती नैनकला। यी दुवैको नाम छोरा प्रतिकसँगै जोडिएको थियो।
नक्कली भुटानी प्रकरणमा बिचौलियाको रूपमा काम गरेकाहरूले प्रतीकसँग छलफल गरेको र उनकै निर्देशन अनुसार पैसा लगेर नैनकलालाई बुझाएको दाबी सार्वजनिक भएको थियो। प्रतीक अनुसन्धानको दायरामा आए। तर बादल र नैनकलामाथि प्रहरीले औपचारिक अनुसन्धान नै गरेन।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर पनि अनुसन्धानको दायराबाट जोगिँदै आएका अर्का शक्तिशाली हुन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई। उनी गृहसचिव हुँदा उनको गाडीमा पैसा राखिदिएको अडियो सार्वजनिक भएको थियो।
यो प्रकरणमा बिचौलिया देखिएका सानु भण्डारीले इन्द्रजित राईले भने अनुसार तत्कालीन गृहसचिव प्रेम राईको गाडीमा १ करोड रुपैयाँ राखेको बयान दिएका थिए। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यका सचिव राजेश्वर स्थापित, पूर्वप्रधानमन्त्री ओलीका सल्लाहकार डा. अजयक्रान्ति शाक्य समेत नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन्। तर अनुसन्धान भएको छैन। इन्द्रजित राई पुर्पक्षका लागि कारागारमा छन् तर उनको छोरा नीरज राई भने फेला परेका छैनन्।
गृह मन्त्रालयका तत्कालीन सचिव महेश्वरप्रसाद न्यौपाने पनि अनुसन्धानबाट बाहिरै छन्। प्रहरीले चाहने हो भने पुन : अनुसन्धान सुरु गरेर प्राप्त प्रमाण मुद्दा चलाउन सकिने तहको भएमा बयान लिएर पूरक अभियोग पत्र लैजान सक्छ।
यस अगाडि नै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले भुटानी शरणार्थी सम्बन्धमा पूरक अनुसन्धान गर्न निर्देशन दिएको थियो। तत्कालीन समयमा प्रहरीले सानु भण्डारी,टंक गुरुङ, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्दीप रायमाझी, रामशरण केसी, गोविन्द चौधरी, बालकृष्ण खाण र नरेन्द्र केसी, बेचन झा लगायत ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। अभियोग पत्रमा बिगो २७ करोड दाबी गरिएको छ।
असोज १०, २०८२ शुक्रबार १७:४८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।