आकाशमा देखिन छाडे चङ्गा, बच्चादेखि युवासम्म ‘अनलाइन गेम’ मा व्यस्त

काठमाडौं : दशैंको चहलपहल गाउँ-बजारमा देखिए पनि चङ्गा उडाउने पुरानो परम्परा भने क्रमशः हराउँदै गएको छ। पहिले दशैं सुरु हुनासाथ गाउँघरका युवाहरू मिलेर आकाश रंगीन चङ्गाले भरिने गर्थ्यो, तर अहिले त्यो रमाइलोपन हराएको छ।
पछिल्लो पुस्ताका बालबालिका र युवाहरू टेलिभिजन, इन्टरनेट र अनलाइन खेलतर्फ व्यस्त भएपछि चङ्गा उडाउनमा रुचि हराएको रौतहटका अशोक कोइराला बताउँछन्। ‘पहिला आकाशमा चङ्गा उडाउँदा चाडपर्वको उमङ्ग झन् बढ्थ्यो, तर अहिले त्यो संस्कृतिबारे नयाँ पुस्ताले थाहा नै पाएका छैनन् जस्तो छ,’ उनले भने।
केही ठाउँमा फाटफुट चङ्गा उडाइने गरे पनि सामूहिक रूपमा चङ्गा उडाउने चलन हराउँदै गएको छ। चङ्गा उडाउन प्रतिस्पर्धा नै हुने दशैंको रमझम अहिले पुस्तान्तरणको अभावमा हराउँदै गएको हो।
घर-परिवार, आफन्त र साथीभाइ भेला भई चङ्गा उडाउनको परम्परा हराउँदै जानु दुखद भएको बताउँदै वयोवृद्धहरूले नयाँ पुस्ताले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
यद्यपि केही विद्यालयहरूले परम्परा जोगाउने प्रयासस्वरूप विद्यार्थीलाई चङ्गा बनाउन सिकाउने गरेका छन्। तर, सरोकारवालाहरूको भनाइमा चाडपर्वको महत्वसँगै यसरी खेलिने मनोरञ्जनका खेलबारे बालबालिकालाई जानकारी दिन अझै आवश्यकता छ।
पुराना संस्कृति लोप हुन नदिन स्थानीय स्तरमा पहल र जर्गेना अनिवार्य भएको छ।
असोज १०, २०८२ शुक्रबार १७:३५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।