दशैंमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग

दशैंमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग

काठमाडौं : सडक विभागले दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुहरूलाई सहज हुने वातावरण बनेको जनाएको छ। हाल देशका मुख्य राजमार्गहरूमा पहिरो पन्छाएर सुधारको काम सकिएको र यात्रुहरूलाई विगतमा जस्तै सास्ती भोग्न नपर्ने विभागले दाबी गरेको हो।

पहिरोका कारण पृथ्वी राजमार्ग, अरनिको राजमार्गलगायत ठूला सडकमा यात्रुहरूलाई लामो समय सास्ती भोग्नुपरेको थियो। मुग्लिन-नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा त यात्रुहरू ४० घण्टाभन्दा बढी ट्राफिक जाममा अलपत्र परेका थिए। विभागका प्रवक्ता प्रभातकुमार झाले भने, ‘दसैँ नजिकिँदै गर्दा यात्रु बाहिरिने क्रममा पृथ्वी, अरनिलगायत मुख्य राजमार्ग अवरुद्ध भए पनि हामी २४ घण्टा खटिएर पहिरो पन्छाउने काम गर्यौँ। अहिले बाटो सहज भइसकेको छ। ठूलो वर्षा नभएसम्म समस्या आउँदैन भन्ने विश्वास छ।’

विभागका अनुसार हाल चार राजमार्ग पूर्ण रूपमा सञ्चालनमा छन् भने १७१ राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। तर, ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्यफ्रुबेँसी-रसुवागढी राजमार्ग अझै अवरुद्ध छ। जसका कारण रसुवागढी र स्याउ पार्किङतर्फ यातायात ठप्प छ। चीनतर्फबाट आएको बाढीले गत साउन १४ गते सडक कटान गरेपछि सो खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। विभागले एक्साभेटर तथा लोडर प्रयोग गरी सडक खोल्ने प्रयास भइरहेको जनाएको छ।

त्यसैगरी, चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करिडोर) राजमार्गअन्तर्गत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ र ६ जोड्ने रानीपुल बेलीब्रिज पूर्ण रूपमा अवरुद्ध छ। पाँच वर्षअघि रेमिट हाइड्रोले निर्माण गरेको उक्त बेलीब्रिज गत साउन ६ गतेको बाढीले बगाएको हो। अहिले पुनः बेलीब्रिज निर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ।

यससँगै, रसुवाको तातोपानी र टिमुरेसहित ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्यफ्रुबेँसी-रसुवागढी राजमार्गका केही खण्ड अझै पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै, रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले मार्ग र लेघुवाघाट-तुम्लिङटार-खाँदवारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग) अन्तर्गत सङ्खुवासभाको अल्फटे खण्डमा पनि यातायात अझै बन्द रहेको विभागको तथ्याङ्कमा उल्लेख छ।

असोज १०, २०८२ शुक्रबार १७:१५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।