भट्टमाथि हलवालाको विश्वास, ‘बलिदान’ले १९३ शो पाउँदा ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’लाई झण्डै आधा

काठमाडौं : असोज १३ गते अर्थात् दशैंको फूलपातीको अवसर पारेर तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आउँदै छन्। हरिवंश आचार्य अभिनीत ‘हरिबहादुरको जुत्ता’, समीर भट्ट अभिनीत ‘बलिदान’ र केदार घिमिरे तथा धिरज मगरको ‘माइतीघर’ फूलपातीबाट रिलिज हुँदैछन्। यसबाहेक हिन्दी फिल्म ‘कान्तारा २’ पनि प्रदर्शनमा आउने तयारीमा छ।
नेपाली फिल्मका लागि हलवालाले शो बाँडफाँड गरिसकेका छन्। जसअनुसार समीर भट्ट अभिनीत फिल्म ‘बलिदान’ लाई सबैभन्दा धेरै शो दिइएको छ। बिहीबारको शो तालिका हेर्ने हो भने यस फिल्मलाई १९३ शो उपलब्ध छ। यही फिल्मसँगै आउने हरिवंश आचार्य अभिनीत ‘हरिबहादुरको जुत्ता’ लाई ११६ शो छ, जुन ‘बलिदान’ भन्दा ७७ शो कम हो। त्यसैगरी निर्माता रोहित अधिकारीको फिल्म ‘माइतीघर’ लाई १२१ शो दिइएको छ, जुन ‘हरिबहादुरको जुत्ता’ भन्दा ५ शो बढी हो।
यो तथ्य हेर्दा हलवालाहरूले समिर भट्टमाथि बढी विश्वास गरेको देखिन्छन्। भट्ट अभिनीत फिल्म ‘१२ गाउँ’ गतवर्षको सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म बनेको थियो। २३ करोड ग्रस कलेक्शन गर्न सफल समीरकै लोकप्रियता हेरेर हलवालाले ‘बलिदान’ लाई उच्च शो दिएको अनुमान गर्न सकिन्छ।
सन्तोष सेनको निर्देशनमा बनेको फिल्म ‘बलिदान’ मा समीरका अलावा हेमन्त बुढाथोकी, ऋचा शर्मा तथा स्वयं निर्देशक सेनकै अभिनय रहेको छ।
त्यसैगरी फिल्म ‘माइतीघर’ लाई मिलन तामाङले निर्देशन गरेका छन्। यसमा धिरज मगर, उपासना सिंह ठकुरी, प्रकाश सपुत, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङलगायतले अभिनय गरेका छन्।
हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’ लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। हरिवंश आफैले लेखेको यो फिल्ममा उनका छोरा मोहितवंश आचार्य र गायक सरोज वलीले पनि अभिनय गरेका छन्। यसले भने न्यून ११६ शो मात्र पाएको छ। ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ का कलाकारहरू लोकप्रिय भए पनि शो भने अपेक्षाकृत कम पाएका छन्।
यससँगै हिन्दी फिल्म ‘कान्तारा २’ पनि प्रदर्शनमा आउँदैछ, तर यसको बुकिङ भने अहिलेसम्म खुला भएको देखिँदैन।
हलवालाहरूले यसपटक २२ घण्टा हल सञ्चालन गर्ने तयारी गरेका छन्। उनीहरूले बिहान ५ः३० बजेदेखि शो खुलाएका छन्। बिहान ५ः३० बजेबाट राति ११ः५५ बजेसम्म शो राखिएको छ। राति २ घण्टाभन्दा लामो फिल्म भएको कारण अन्तिम शो सकिँदा बिहान ३ बजिसकेको हुनेछ। त्यसपछि साढे ५ बजेबाट पुनः नयाँ शो सुरु हुने भएकाले करिब २२ घण्टा हल निरन्तर सञ्चालन हुने देखिन्छ।
तर यति धेरै शोमा दर्शक पुग्छन् कि पुग्दैनन् भन्ने कुरा भने सोमबारदेखि मात्रै प्रष्ट हुनेछ। अघिल्लो वर्ष फिल्म ‘पूर्णबहादुरको साराङ्गी’ प्रदर्शन हुँदा भने हल २४ घण्टै सञ्चालन भएको थियो।
असोज १०, २०८२ शुक्रबार १६:२८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।