सञ्चारमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेको दुखेसो : पठाओ चलाएर परिवार पाल्दै थिएँ, अहिले अस्पतालको शय्यामा छु

सञ्चारमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेको दुखेसो : पठाओ चलाएर परिवार पाल्दै थिएँ, अहिले अस्पतालको शय्यामा छु

काठमाडौं : सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूसँग आज भेट गरेका छन्। उनले त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते र उनीहरूका परिवारसँग भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

अस्पताल पुगेका मन्त्री खरेलले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गर्दै छिट्टै स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, सहिद र घाइतेका मागलाई सम्बोधन गर्ने विषयमा सरकार गम्भीर रहेको उल्लेख गरे।

‘अहिले हाम्रो पहिलो प्राथमिकता घाइतेहरू छिट्टै निको भएर घर फर्किनु हो। त्यसपछि सहिद र घाइतेका पक्षमा भविष्यमा के गर्न सकिन्छ भन्नेबारे हामी छलफल गर्दैछौँ,’ मन्त्री खरेलले भने, ‘सबै मन्त्री एकैसाथ होइन, फरक-फरक समयमा आएर अवस्था बुझिरहेका छौँ। यसो गर्दा नियमित जानकारी मन्त्रिपरिषद्मा पुर्याउन सजिलो हुन्छ।’

अस्पतालको शय्यामा रहेका घाइतेहरूले भने जेनजी आन्दोलनको योगदानलाई नबिर्सन सरकारलाई सुझाव दिएका छन्। आन्दोलनका क्रममा घाइते भएका सिन्धुलीका २९ वर्षीय रवि भण्डारीले आफ्ना कठिनाइ सुनाउँदै भने, ‘म परिवारको जेठो छोरो हुँ। पठाओ चलाएर परिवार पाल्दै आएको थिएँ। अहिले अस्पतालको शय्यामा छु, मेरो मात्र होइन, परिवारको भविष्य पनि संकटमा परेको छ। सरकारको ध्यान पुग्नुपर्छ।’

त्यसैगरी, उपचाररत १८ वर्षीय सुनिल थापाकी आमा कुसुदेवी थापाले छोरालाई पुनः हिँड्न सक्ने बनाइदिन सरकारसँग आग्रह गरिन्। उनले भनिन्, ‘जापान जान तयारीमा थियो छोरो। अहिले हिँडडुल गर्न नसक्ने भएको छ। घाइतेहरूको उपचार र भविष्यप्रति सरकारले गम्भीर हुनुपर्छ।’

जेनजी आन्दोलनमा घाइते भई उपचारमा पुगेका २ हजार ३१६ जनामध्ये अहिलेसम्म २ हजार २१२ जना डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल ५६ जना घाइते विभिन्न १८ अस्पतालमा उपचाररत छन्। त्रिवि शिक्षण अस्पतालमा मात्र सात जना अझै उपचार भइरहेको छ।

असोज १०, २०८२ शुक्रबार १५:०५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।