इतिहासको कठघरामा एक भगौडा प्रधानमन्त्री

इतिहासको कठघरामा एक भगौडा प्रधानमन्त्री

नेपाली राजनीतिको इतिहासमा केपी शर्मा ओली एक यस्ता पात्रका रूपमा दर्ज भए, जसको उदय जति शक्तिशाली थियो, पतन त्यति नै नाटकीय र अपमानजनक।

उनले दुई पटक प्रधानमन्त्रीको रूपमा बालुवाटार छाडे, तर दुवै पटकको उनको बहिर्गमन सामान्य भएन, गलहल्याइए। पहिलो पटक उनलाई संविधान र अदालतले गलहत्यायो भने दोस्रो पटक आक्रोशित जनताले प्रधानमन्त्री निवासै घेर्दा उनी सेना गुहारेर भाग्नुपर्यो।

२०७४ सालमा झण्डै दुई तिहाइको अपार जनमत पाएर सिंहदरबार प्रवेश गरेका ओलीले साढे तीन वर्षमै त्यो विश्वास गुमाइसकेका थिए। पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष व्यवस्थापन गर्न नसक्दा र आफ्नै सहयात्रीहरूलाई पेल्दै जाँदा उनी अल्पमतमा पर्ने निश्चित भयो।

सत्ता गुम्ने डरले उनले जनताको सार्वभौम थलो प्रतिनिधिसभालाई नै दुई-दुई पटक विघटन गरिदिए। यो उनको अधिनायकवादी चरित्रको पहिलो र सबैभन्दा नाङ्गो प्रदर्शन थियो। सर्वोच्च अदालतले उनको असंवैधानिक कदमलाई रोकिदियो।

दोस्रो पटक प्रतिनिधिसभा पुनर्स्थापना गर्दै अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्यो। यो ओलीका लागि राजनीतिक मात्र होइन, नैतिक हार पनि थियो। तर, आफ्नो यो हारलाई स्वीकार्नुको सट्टा उनले दम्भको प्रदर्शन गरे।

बालुवाटारबाट उनको बिदाइ कुनै पराजित शासकको जस्तो थिएन। सडकमा उनका कार्यकर्ताहरूको जुलुस थियो। हातमा राष्ट्रिय झण्डा, गाडीहरूको लस्कर र ‘आई लभ यू केपी बा’, ‘केपी ओली जिन्दावाद’ जस्ता नारासहित कार्यकर्ताले घेरेर बालुवाटारबाट बालकोट लगे।

त्यो तामझाम देखेर लाग्थ्यो, उनी कुनै ठूलै विजय हासिल गरेर फर्किँदैछन्। तर वास्तविकतामा, उनी संविधान मिचेको आरोपमा अदालतबाट गलहत्याइएका थिए। यो बिदाइको नाटक उनको संवैधानिक हार र अपमानलाई ढाकछोप गर्ने एउटा असफल प्रयास थियो।

पहिलो अपमानजनक बहिर्गमनबाट पाठ सिक्नुको साटो ओली झनै कठोर र असहिष्णु बने। राजनीतिक दाउपेच र गठबन्धनको अंकगणित मिलाएर उनी जब तेस्रो पटक प्रधानमन्त्री बने, तब उनीभित्रको अधिनायकवादी शासक झनै बाहिर देखियो।

ओलीले पार्टीलाई आफ्नो भक्तिगान गाउने भजनमण्डलीमा रूपान्तरण गरे, जहाँ उनी अध्यक्षबाट ‘बा’ बनिसकेका थिए। भीम रावल र घनश्याम भुसालजस्ता आलोचकहरूलाई किनारा लगाइयो। राज्यका महत्त्वपूर्ण नियुक्तिहरूमा दीपक भट्टजस्ता बिचौलियाहरूको बिगबिगी चल्यो। नक्कली भुटानी शरणार्थी काण्डजस्ता भ्रष्टाचारका प्रकरणमा जोडिएका आफ्ना निकटस्थहरूलाई जोगाउन उनले राज्यशक्तिको चरम दुरुपयोग गरे।

संसद, न्यायपालिका र सञ्चारमाध्यममाथि उनको निरन्तर प्रहार जारी रह्यो। उनी आफूलाई देशको ‘एकमात्र विकल्प’ मान्थे र आफ्नो आलोचनालाई राष्ट्रघाती ठान्थे। उनको यही दम्भ र अहंकारले नागरिक तहमा असन्तुष्टि र आक्रोशको भुसको आगो सल्काइरहेको थियो।

त्यही आगोमा घिउ थप्ने काम सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले गर्यो। अभिव्यक्ति स्वतन्त्रतामाथिको यो नाङ्गो हस्तक्षेपपछि जेन-जी पुस्ताको नेतृत्वमा आन्दोलन सुरू भयो। २०८२ भदौ २३ गते नयाँबानेश्वरमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा १९ जना युवाको ज्यान गयो। यो घटनाले देशव्यापी आक्रोशको ज्वालामुखी विस्फोट गरायो।

भदौ २४ गते सडकमा युवा मात्र होइन, उनीहरूका अभिभावक पनि उत्रिए। मन्त्रीहरू हेलिकप्टरमा उद्धार गरिए, पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु आफ्नै निवासमा कुटिए। सिंहदरबार र संसद् भवन लगायतका महत्त्वपूर्ण संरचनामा आगो झोसियो। प्रहरी आफ्नै ज्यान जोगाउन कार्यालयमा हतियार छाडेर भाग्न थाले।

त्यसबेला, प्रधानमन्त्री ओली बालुवाटारको बलियो सुरक्षा घेराभित्र थिए, तर उनी त्यहाँ सुरक्षित थिएनन्। बाहिर उर्लिरहेको जनसागर कुनै पनि बेला गेट तोडेर भित्र पस्न सक्थ्यो। उनले सेना परिचालन गरेर दमन गर्ने अन्तिम प्रयास गरे, तर प्रधानसेनापतिले संवैधानिक प्रक्रिया पूरा नभएको र अवस्था नियन्त्रण बाहिर गइसकेको भन्दै उनको आदेश मानेनन्। अन्ततः राजीनामा दिएर भाग्नुपर्ने स्थिति आयो।

यो पटक उनको बहिर्गमनमा कुनै तामझाम थिएन, कुनै जयकार थिएन, कुनै मोटरकेड थिएन। थियो त केवल ज्यान जोगाउनुको छटपटी र लज्जास्पद पलायन। उनले काँप्दै राजीनामा पत्रमा हस्ताक्षर गरे र राष्ट्रपति कार्यालय पठाइयो। लगत्तै, उनी आफ्नी श्रीमती र सल्लाहकारसहित बालुवाटारको हेलिप्याडबाट सेनाको हेलिकप्टर चढेर भागे। 

पहिलो पटक सडकमा उनलाई स्कर्टिङ गर्ने समर्थक र कार्यकर्ता थिए, दोस्रो पटक उनको निवास घेरेर बसेका आक्रोशित नागरिक। पहिलो पटक उनी भाषण गर्दै बालकोट पुगेका थिए, दोस्रो पटक उनी ११ दिनसम्म गुमनाम भए। ११ दिनपछि बालकोट फर्कने बाटो थिएन। घर जलिसकेको थियो। भक्तपुरको गुन्डुमा लिएको डेरामा देखा परेका उनी अझै पनि अहंकारभावमा हुङ्कार गर्दैछन्- ‘मैले भ्रष्टाचार नगर्नु नै अपराध भयो।’

ओलीको राजनीतिक जीवनले एउटा शक्तिशाली सन्देश के दिन्छ भने दम्भ र अहंकारले आर्जन गरेको शक्ति क्षणिक हुन्छ। उनको पहिलो बहिर्गमन लोकतान्त्रिक संस्थाहरूले दिएको एउटा चेतावनी थियो, जसलाई उनले बेवास्ता गरे। दोस्रो बहिर्गमन त्यही बेवास्ताको भयानक परिणाम थियो।

पहिलो पटक संविधानले गलहत्याउँदा उनले उत्सव मनाए, तर दोस्रो पटक जब जनताले गलहत्याए, उनीसँग ज्यान जोगाउनका लागि भाग्नुबाहेकको विकल्प थिएन। धरहराको पुनर्निर्माण आफूले गरेको दाबी गर्ने केपी ओलीलाई अब  इतिहासले यस्तो नेताका रूपमा सम्झनेछ, जसले अपार अवसर पाएर पनि त्यसलाई आफ्नो दम्भको धरहरा बनाउन खर्च गरे र अन्ततः त्यही धरहरा आफ्नै लागि पतनको कारण बन्यो।

बालुवाटारबाट भाग्नका लागि उडेको त्यो हेलिकप्टर उनको राजनीतिक यात्राको सबैभन्दा तीतो र अन्तिम सत्य हो। त्यो एक शासकको पलायन थियो, जसलाई पहिले संविधानले र पछि जनताले गलहत्याएर सत्ताबाट फ्याँकिदिए। तर उनको शैलीले चेतिसकेको देखाउँदैन। इमानको हिङ त छैन उनीसँग। तर टालो देखाएर शक्तिमा फर्कने प्रयासमा देखिन्छन्।

असोज १०, २०८२ शुक्रबार १४:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।