राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खुल्छन् : गृहमन्त्री अर्याल

काठमाडौं : अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाब र प्रभावका आधारमा रोकिएका भ्रष्टाचार र संगठित अपराधका सबै अनुसन्धानका फाइलहरू खोल्ने दृढता व्यक्त गरेका छन्।
उनले अनुसन्धानमा अब ‘ब्रेक थ्रु’ हुने बताउँदै सुशासन स्थापना गर्नु सरकारको प्रमुख म्यान्डेट भएको स्पष्ट पारेका छन्।
भर्खरै नियुक्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का नयाँ प्रमुख एआईजी डा. मनोज केसीले जिम्मेवारी सम्हालेपछि ब्युरोको अनुगमन गर्न पुगेका मन्त्री अर्यालले सीआईबीका अधिकृतहरूलाई यस्तो निर्देशन दिएका हुन्।
गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले लाजिम्पाटस्थित ब्युरोको कार्यालयमा गरेको तोडफोड र क्षतिको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो, त्यस्तो अब हुँदैन। अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुन्छ।’
प्रदर्शनकारीहरूले ब्युरोको आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेका कागजातहरू समेत जलाइदिएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान कमान्ड गरेका एआईजी केसीको नेतृत्वमा सीआईबीले अब वित्तीय अपराध, आर्थिक अपराध र भ्रष्टाचारका विषयमा राजनीतिक आधारमा भइरहेका सबै अवरोध हटाएर काम गर्ने मन्त्री अर्यालले बताए।
‘कतिपय अनुसन्धानमा जुन खालको अवरोध आइरहेको थियो, त्यो अवरोध अब हामीले फुकाउनुपर्छ भनेर निर्देशन दिएको छु’, उनले भने।
अन्तरिम सरकारको मुख्य लक्ष्य सुशासन कायम गर्दै ६ महिनाभित्र निर्वाचन गराउनु रहेको बताउँदै उनले त्यसका लागि निष्पक्ष र स्वतन्त्र अनुसन्धान अपरिहार्य रहेकोमा जोड दिए।
‘यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन, र शान्ति सुरक्षा भएन भने हामीले ६ महिनाभित्र चुनाव पनि गर्न सक्दैनौँ’, मन्त्री अर्यालले भने।
असोज १०, २०८२ शुक्रबार १३:२९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।