कर्णालीमा सरुवा भएका कर्मचारी अझै पुरानै अड्डामा, ४० दिन बित्दा पनि रमाना लिन आनाकानी

कर्णालीमा सरुवा भएका कर्मचारी अझै पुरानै अड्डामा, ४० दिन बित्दा पनि रमाना लिन आनाकानी

सुर्खेत : कर्णाली प्रदेश सरकारले सरुवा गरेका अधिकांश कर्मचारीले ४० दिन बितिसक्दा पनि तोकिएको कार्यस्थलमा हाजिर हुन मानेका छैनन्।

प्रदेश सरकारले गत साउन ३० गते विभिन्न मन्त्रालय, निर्देशनालय र जिल्लास्थित कार्यालयका ८३ जना कर्मचारीलाई काज तथा सरुवा गरेको थियो, तर अधिकांशले हालसम्म रमाना समेत लिएका छैनन्।

प्रदेश निजामती सेवा ऐन, २०८० अनुसार सरुवा भएको कर्मचारी २१ दिनभित्र बरबुझारथ गरी नयाँ कार्यालयमा हाजिर हुनुपर्ने प्रावधान छ।

विशेष परिस्थितिमा एक महिनासम्म समय थप्न सकिने भए पनि उक्त म्याद समेत गत भदौ २७ गते नै सकिइसकेको छ। तर, कानुनी व्यवस्थालाई बेवास्ता गर्दै कर्मचारीहरू पुरानै कार्यालयमा अड्डा जमाएर बसेका छन्।

रमाना लिन आनाकानी गर्दा कार्यालयको महत्त्वपूर्ण कामकारबाही प्रभावित भएको छ।

नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने, ‘कार्यालय प्रमुखको रूपमा सरुवा भएकाहरूले कार्य सम्पादन मूल्याङ्कन फारम, लेखा-बेरुजु, गोप्य कागजात र विद्युतीय अभिलेख जस्ता महत्त्वपूर्ण जिम्मेवारी हस्तान्तरण नै नगरी बसेका छन्।’

कर्मचारीतन्त्रको यस्तो प्रवृत्तिले प्रदेशको समग्र कार्य सम्पादनमा गम्भीर असर पारेको जानकारहरू बताउँछन्। प्रदेश स्थापनाको आठ वर्षमा एक सयको हाराहारीमा सचिव फेरिनु, बजेट कार्यान्वयन कमजोर हुनु र भ्रष्टाचार बढ्नुजस्ता समस्यालाई यस्तै अराजकतासँग जोडेर हेरिएको छ।

यस विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयहरूलाई तत्काल रमाना दिन परिपत्र जारी गरिसकेको जनाएको छ।

कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव लक्ष्मीकुमार विकले भने, ‘कानुनसम्मत सरुवा भइसकेपछि जानैपर्छ। उहाँहरू नगएको जानकारी पाएपछि हामीले सम्बन्धित मन्त्रालयहरूलाई तत्काल रमाना दिन परिपत्र गरिसकेका छौँ।’

सरुवा गरिएका कर्मचारीहरूमा प्रदेश प्रशासन, आर्थिक योजना तथा तथ्यांक, विविध (महिला विकास र कम्प्युटर) लगायतका सेवा-समूहका राजपत्र अनंकित द्वितीय श्रेणीदेखि आठौँ तहका वरिष्ठ शाखा अधिकृतसम्म छन्।

असोज १०, २०८२ शुक्रबार १२:५३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।