१०५ घण्टापछि नारायणगढ-मुग्लिन सडक पूर्ण सञ्चालनमा, यात्रा सहज

१०५ घण्टापछि नारायणगढ-मुग्लिन सडक पूर्ण सञ्चालनमा, यात्रा सहज

चितवन : पटक-पटकको पहिरोले एक सातामा १०५ घण्टा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड बिहीबार रातिदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

तुइन खोलामा खसेको पहिरो पन्छाइएलगत्तै राति ११:३५ बजेदेखि दुईतर्फी सवारी आवागमन सहज भएको हो। डिभिजन सडक कार्यालय, चितवनका प्रमुख नारायण लामिछानेका अनुसार तत्काल ठूलो पहिरो खस्ने जोखिम कम भएको छ।

‘दुई दिनअघि नाम्सीमा अड्किएका ढुङ्गा पनि खसेकाले तत्कालका लागि सडक सुरक्षित देखिएको छ। सानातिना पहिरो खसेमा सहजै पन्छाउन सकिन्छ’, उहाँले भन्नुभयो।

यद्यपि, पूर्ण रूपमा ढुक्क हुने अवस्था नरहेको उनले बताए।

‘यस सडकखण्डमा पानी पर्दा हिलो र घाम लाग्दा सुक्खा पहिरो खस्ने समस्या छ,’ उनले भने, ‘त्यसैले पहिरोको जोखिम नदेखिए पनि यात्रा गर्दा सावधानी अपनाउन सबैलाई आग्रह गर्दछौँ।’

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पहिरोका कारण रोकिएका सम्पूर्ण सवारीसाधनलाई राति नै गन्तव्यतर्फ पठाइसकिएको बताए।

उनले कठिन परिस्थितिका बीच पनि अपेक्षाकृत छिटो सडक खुलाउन सफल भएको उल्लेख गर्दै हाल चितवन हुँदै आवतजावत गर्ने सबै सडक खुला रहेको जानकारी दिए।

असोज १०, २०८२ शुक्रबार ११:४३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।