भागेका १४ हजार पाँच सयमध्ये आठ हजार कैदीबन्दी कारागार फर्किए

काठमाडौं : देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन्।
फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो। उनका अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन्।
फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन्। उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए।
जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए। यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ । कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन्।
असोज १०, २०८२ शुक्रबार ११:२४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।