जेन-जी आन्दोलनमा प्रहरी बाहेकबाट पनि गोली चलेको हो?, यस्ता छन् केही प्रमाण

जेन-जी आन्दोलनमा प्रहरी बाहेकबाट पनि गोली चलेको हो?, यस्ता छन् केही प्रमाण

काठमाडौं : जेन-जी पुस्ताको प्रदर्शनका क्रममा सुरक्षाकर्मी बाहेकबाट गोली चलेको दाबी आइरहेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी, मृतक र घाइतेको संख्या र एक विद्यार्थीको शंकास्पद मृत्युको भिडियोले शंका बढाए पनि एकिन भने भएको छैन। भीड नियन्त्रणमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालित थिए। कारागारबाट कैदी भाग्न खोज्दा सेनाले गोली चलाएको थियो। प्रदर्शनमा सशस्त्र र प्रहरी खटिएका थिए।

सुरक्षाकर्मी बाहेकबाट गोली चलेको हो हैन यसको एकिन गर्न सकिने प्रमाण मृतक र घाइतेबाट बरामद गोली नै हुन्। ​​​​​​मृतक र घाइतेको शरीरमा बरामद गोलीबाट एसएलआर, इन्सास जस्ता आधुनिक हतियारबाट गोली चलेको पुष्टि भएको छ।

प्रदर्शनमा छर्रा र रबर बुलेटसमेत प्रहार भएका थिए। उकेराले प्राप्त गरेका गोलीका तस्विरहरूले यसको पुष्टि हुन्छ। यी गोलीका तस्विरहरू उपत्यकाका विभिन्न अस्पतालहरूका हुन्।

अस्पताल प्रशासनले जसको शरीरबाट गोली बरामद भएको हो त्यो बट्टामा नाम लेखेर सुरक्षित राखेको छ। यसको आधारमा कुन मृतक वा घाइतेलाई कुन गोली लागेको हो सहजै जानकारी हुन्छ।

तर, गोली हेरेकै आधारमा गोली सुरक्षाकर्मीकै हतियारबाट चलेका हुन् या हैनन् ठम्याउन सहज हुँदैन। जानकार स्रोतका अनुसार यसको पुष्टि गर्न कठिन भने छैन। ब्यालेस्टिक विज्ञबाट गोलीको परीक्षणबाट कुन गोली कुन हतियारबाट चलेको हो भन्ने पुष्टि गर्न सकिन्छ।

कसरी हुन्छ पहिचान ?
गोली केवल धातुको टुक्रा होइन, त्यसमा हातहतियारको छाप हुन्छ। जानकारका अनुसार गोलीको आकार (क्यालिबर) नाप्दा यो पिस्तोल, राइफल वा अन्य कुन किसिमको बन्दुकबाट आएको हो भन्ने थाहा हुन्छ।

बन्दुकको भित्री भागमा साना घुमाइएका रेखा हुन्छन्। गोली निस्कँदा ती रेखाले गोलीको सतहमा साना रेखा बनाएका हुन्छन्। यी रेखा हरेक बन्दुकमा फरक-फरक हुन्छन्। यसको आधारमा समेत गोली चलेको हतियारको पहिचान हुन सक्छ।

‘यदि गोलीसँगै कार्ट्रिज केस पनि भेटियो भने अझ सजिलो हुन्छ,’ जानकार स्रोतले उकेरासँग भन्यो, ‘केसमा फायरिङ पिन र बन्दुकका अन्य भागले छोडेका निशान हुन्छन्, जसले कुन बन्दुक प्रयोग भएको भन्ने पत्ता लगाउन मद्दत गर्छ।’

शरीरमा भेटिएको गोलीको आकार प्रहरीको हतियारसँग मेल खाएन भने शंका बलियो हुन्छ। गोलीमा देखिएका रेखा प्रहरीका हतियारबाट निकालेर टेस्ट-फायर गरिएको गोलीसँग नमिले अन्य पक्षले चलाएको देखिन्छ।

घटनास्थलमा भेटिएका कार्ट्रिज केस र प्रहरीले प्रयोग गरेको हतियारबीच पनि तुलना गर्न सकिन्छ। भिडियो, फोटो वा प्रत्यक्ष देख्ने साक्षीका बयानले पनि कुन तर्फबाट गोली चलेको भन्ने आधार दिनसक्छ। तर, सबै घटनाको हकमा यो सम्भव हुँदैन।

गोली धेरै टुक्रिएको वा च्यातिएको छ भने तुलना गर्न गाह्रो हुन्छ। एउटै मोडलका धेरै बन्दुकले छोडेका निशान धेरै हदसम्म मिल्न सक्छन्, त्यसैले ठ्याक्कै यही बन्दुकबाट गोली चलेको हो भन्ने  सबै गोलीको हकमा सम्भव नहुने ती जानकारले बताए।

‘भदौ २३ को घटनामा फेला परेका गोली र कार्ट्रिज केसको वैज्ञानिक परीक्षण (बलिस्टिक परीक्षण) बाट मात्र धेरै हदसम्म गोली चलेको स्पष्ट हुनसक्छ’, ती अधिकारीले भने।

श्रेयमको मृत्यु शंकास्पद
नयाँ बानेश्वरमा गोली लागेर मृत्यु भएका श्रेयम चौलागाईंलाई जसरी गोली लागेको छ त्यो निकै शंकास्पद देखिन्छ। ग्लोबल कलेजका उनी सडकमा साथीसँगै हिँडिरहेको बेलामा देब्रे कान नजिक गोली लागेको थियो।

भीड नभागेको, अवस्था सामान्य रहेको बेलामा दुई बजे अगाडि नै उनलाई गोली लागेको थियो। पोस्टमार्टममा पनि उनको देब्रे कान मुनी गोली लागेको देखिएको छ।

‘सामान्य अवस्थामा उनलाई गोली लागेको छ। उनी नजिक मुखमा मास्क  लगाएको व्यक्ति आए लगत्तै गोली लागेकाले कतै त्यही व्यक्तिले गोली हानेको त हैन भन्ने शंका भने बढाएको छ’, एक सुरक्षा अधिकारीले भने।

जेन-जी शहीद श्रेयम चौलागाईं

यसका लागि गोली लागेको दुरी र घाउको चोटको अवस्थाबाट शंका सत्य हो हैन भन्ने पुष्टि हुन सक्छ।

‘नजिकबाट गोली चलेको र गोली कानको पछाडि तलबाट लागेको देखिए हामीले गरेको शंका सत्य हुन सक्छ,’ ती अधिकारीले भने, ‘यसका लागि उनको शरीरबाट फेला परेको गोलीको अंश, घाउको प्रकार र कुन दुरीमा गोली चलेको हो भन्ने थप विवरण खोज्दै छौँ।’

जेन-जी पुस्ताको आन्दोलनबारे उकेरामा प्रकाशित एक्सक्लुसिभ सामग्रीहरु

असोज १०, २०८२ शुक्रबार १०:५६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।