जन्मथलो पुग्ने चटारो (फोटो फिचर)

काठमाडौं : बिहानको हावामा गाडीको हर्न र यात्रुहरूको कोलाहल मिसिएको छ। काठमाडौंको जडिबुटी चोकमा झिसमिसे उज्यालोसँगै मानिसहरूको भीड छ। कसैको काँधमा झोला छ, कसैको हातमा पोका-पन्तुरा।
हरेक अनुहारमा हतार छ, तर त्यो हतारभित्र घर पुग्ने मीठो प्रतीक्षा र उत्साह लुकेको छ। यो दृश्य जडिबुटीको मात्र होइन, यतिबेला राजधानीबाट बाहिरिने हरेक नाकामा यस्तै भीड छ।
घटस्थापना लागेसँगै दशैंको औपचारिक सुरुवात भएको छ, र यही सुरुवातसँगै शुरू भएको छ- कर्मथलोबाट जन्मथलो फर्कनेहरूको यात्रा। अध्ययन, रोजगारी र व्यापारका लागि वर्षभरि राजधानीमा रहेकाहरू घर फर्कन आतुर छन्।
कलंकी-नागढुङ्गाको जाम होस् या बल्खु-दक्षिणकालीको घुम्ती, जताततै गाडीको लामो ताँती र बसको छतमा सामानको चाङ लागेका छन्। नयाँ बसपार्क होस् वा कोटेश्वरको बस स्टप, टिकट काउन्टरमा बाक्लो भीड छ।
कोही टिकट पाएकोमा खुसी छन्, कोही अझै सिटको खोजीमा छन्। तर, सबैको एउटै लक्ष्य छ- जसरी पनि घर पुग्नु छ, अग्रजको हातबाट टीका र आशीर्वाद थाप्नु छ।
घटस्थापनादेखि बिहीबारसम्म मात्रै करिब सवा दुई लाख मानिसले उपत्यका छाडिसकेको ट्राफिक प्रहरीको तथ्याङ्क छ।
असोज १०, २०८२ शुक्रबार १०:३६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।