कोशी राजमार्गका दुई खण्ड र चीन जोड्ने पुल अझै अवरुद्ध

काठमाडौं : लगातारको वर्षा र बाढीका कारण कोशी प्रदेशको संखुवासभा र बागमती प्रदेशको रसुवामा मुख्य राजमार्ग तथा पुलहरू महिनौँदेखि अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कोशी राजमार्गका दुई खण्ड र चीनसँगको व्यापारिक नाका जोड्ने महत्वपूर्ण पुल अझै पूर्ण रूपमा बन्द छन्। प्रहरीको तथ्याङ्कअनुसार, संखुवासभामा अविरल वर्षाका कारण कोशी राजमार्गका दुई स्थानमा यातायात ठप्प छ।
भोटखोला गाउँपालिका-४, बरुणमा गत जेठ ६ गतेदेखि र मकालु गाउँपालिका-३, एकुवामा भदौ १५ गतेदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ। लामो समयदेखि राजमार्ग बन्द हुँदा त्यस क्षेत्रका नागरिकको आवतजावत र दैनिक उपभोग्य वस्तुको ढुवानीमा गम्भीर असर परेको छ।
यसैगरी, बागमती प्रदेशको रसुवामा बाढीले नेपाल र चीन जोड्ने पुलमा क्षति पुर्याउँदा आवतजावत ठप्प भएको छ।
गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढी नाका जोड्ने पुल गत साउन २४ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यो पुल अवरुद्ध हुँदा चीनसँगको अन्तर्राष्ट्रिय व्यापार र स्थानीय जनजीवन नराम्ररी प्रभावित भएको छ।
प्रहरीले यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सडक अवरोधसम्बन्धी थप सूचनाका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट हेर्न सकिनेछ।
असोज १०, २०८२ शुक्रबार ०९:०८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।