आदील र सन्दीप टोलीमा पर्ने कुरा खेलको आवश्यकताले निर्धारण गर्छ : प्रशिक्षक स्टुअर्ट ल

आदील र सन्दीप टोलीमा पर्ने कुरा खेलको आवश्यकताले निर्धारण गर्छ : प्रशिक्षक स्टुअर्ट ल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजलाई विश्व क्रिकेटसामु आफ्नो क्षमता प्रदर्शन गर्ने ‘उत्कृष्ट अवसर’ को रूपमा लिएको बताएका छन्।

उनले नतिजा जेसुकै भए पनि यो सिरिजले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुन र भविष्यका लागि महत्त्वपूर्ण अनुभव बटुल्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

शारजाहमा हाम्रो खेलकुदसँगको कुराकानीमा बोल्दै प्रशिक्षक लले भने, ‘वेस्ट इन्डिजको प्रतिनिधित्व जसले गरे पनि उनीहरू दुई पटकको टी-२० विश्वविजेता हुन्। यस्तो टोलीविरुद्ध आफ्नो कौशल विश्वसामु प्रस्तुत गर्ने यो हाम्रो लागि उत्कृष्ट अवसर हो।’

उनले यो सिरिज खेलाडीहरूका लागि आफूलाई प्रमाणित गर्ने ‘शप विन्डो’ जस्तै भएको बताए।

‘अहिले विश्वभर धेरै टी-२० फ्रेन्चाइज लिगहरू छन् र धेरै मानिसहरूले हाम्रा खेलाडीहरूले कस्तो प्रदर्शन गर्छन् भनेर हेरिरहेका हुनेछन्। त्यसैले यो एक ठूलो अवसर हो’, उनले थपे।

प्रशिक्षक लले हालको नेपाली टोली निकै सन्तुलित रहेको र अन्तिम ११ खेलाडी छनोट गर्न आफूलाई ‘राम्रो टाउको दुखाइ’ भएको स्वीकार गरे।

उनले भने, ‘कसलाई खेलाउने भन्ने थाहा नभएर टाउको दुखाउनुभन्दा यस्तो दुविधा हुनु राम्रो हो। हाम्रो टोलीमा उच्च प्रतिभा र सीप छ, र हामीले बनाएको खेल योजनामा अडिग रह्यौँ भने राम्रो प्रदर्शन गर्नेछौँ।’

उनले राष्ट्रिय टिममा कमब्याक गरेका सन्दीप जोरा र आदिल अन्सारीजस्ता खेलाडीको उपस्थितिले टोलीलाई थप बलियो बनाएको तर उनीहरू सीधै टोलीमा पर्छन् वा पर्दैनन् भन्ने कुरा खेलको आवश्यकताअनुसार निर्धारण हुने बताए।

वेस्ट इन्डिजका पूर्व प्रशिक्षकसमेत रहेका लले यूएईमा रहेका नेपाली क्रिकेट समर्थकहरूको उत्साहबारे आफू जानकार रहेको बताए।

‘मलाई थाहा छ, जति संख्यामा दर्शक आउँछन्, उनीहरूको आवाज त्योभन्दा दश गुणा ठूलो सुनिन्छ। हामीलाई आशा छ, नेपाली दर्शकहरू हामीलाई समर्थन गर्न आउनुहुनेछ’, उनले भने।

नेपालले शनिबार, सोमबार र मंगलबार युएईको सारजाह क्रिकेट मैदानमा वेस्टइन्डिजविरुद्ध तीन खेलको टी२० सिरिज खेल्दैछ।

नेपाली टोलीले शारजाहको गर्मी र ओसिलो मौसममा आफूलाई अभ्यस्त बनाउँदै प्रशिक्षण गरिरहेको छ। यो सिरिजलाई अक्टोबरमा हुने आईसीसी विश्वकप एसिया छनोटकोको तयारीका रूपमा पनि हेरिएको छ।

असोज १०, २०८२ शुक्रबार ०८:५१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।