आज नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआराधना गरिँदै

आज नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं : नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ शक्तिस्वरूपा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। हरेक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने वैदिक परम्परा छ।

स्कन्दमाता नवदुर्गा मध्य पाँचौ देवी हुन्। देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध छिन्। शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो।

पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द थिए र स्कन्दले नै दैत्य-पति तारकासुरको वध गरेका थिए। स्कन्दमाता शब्द दुईवटा शब्दबाट मिलेर बनेको छ, पहिलो स्कन्द तथा दोस्रो माता अतस् स्कन्द या कार्तिकेयको माता देवी स्कन्दमाता हुन्।

स्कन्दमाता स्वरूपमा देवी, कुमार कार्तिकेयको काखमा राखेको तथा चार भुजाले युक्त छिन्। स्कन्दमाता देवी आफ्नो दुवै हातमा पद्म या कमल पुष्प धारण गरेकी देवी सिंहमा सवार छिन् तर कमलको आसनमा बस्छिन्। स्कन्दमाताको पूजा, पाठ, उपासना एवं साधना विशेष गरी नवरात्रको पञ्चमी तिथिमा हुने गर्दछ।

यस अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणीलगायतका मन्दिरहरूमा श्रद्धालुको चहलपहल बढेको छ।

त्यसैगरी, उपत्यकाबाहिर धरानको दन्तकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, भोजपुरको सिद्धकाली, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी र डोटीको शैलेश्वरीलगायतका शक्तिपीठहरूमा पनि पूजाआजा गर्नेहरूको भीड लागेको छ।

घटस्थापना गरिएको स्थलमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरू पाठ गर्ने गरिन्छ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यिनै नौ रूपलाई समग्रमा ‘नवदुर्गा’ भनिन्छ।

नवरात्रको अवसरमा उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटाजस्ता प्रमुख मन्दिरहरूलाई रङ्गीचङ्गी बत्तीले सजाइएको छ। विशेषगरी नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै स्वरूपका मूर्ति प्रतिस्थापन गरिएको पाइन्छ, जसलाई दिदीबहिनीका रूपमा पुकार्ने चलन छ।

असोज १०, २०८२ शुक्रबार ०७:४३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।