‘सिटामोल’ खाए जस्तो हैन गर्भपतनको औषधि, परामर्श नलिई खाए जानसक्छ ज्यान

गर्भपतन होइन, सुरक्षित गर्भपतन रोज्नुपर्छ। यो वाक्यले कर्तव्य मात्र होइन, सहानुभूति, जागरूकता र वैज्ञानिक विवेकको आह्वान पनि गर्छ। यहाँ ‘सुरक्षित’ शब्दको अर्थ जीवनको सुरक्षा र सम्भावित जटिलताबाट बचाउसँग जोडिएको छ।
कहिलेकहीँ जीवन र मृत्युबीचको दूरी निकै कम हुन्छ। त्यो दूरी कुनै प्रक्रियाले भन्दा पनि सही निर्णय र सेवाको पहुँचले तय गर्छ। स्वास्थ्यकर्मीहरूले दैनिक रूपमा देख्ने सङ्घर्ष, समाजले बनाएका साँघुरा ढाँचाहरू र कानुनले दिएका अधिकार; यी सबैको समन्वयले मात्र महिलाको जीवन सुरक्षित हुन सक्छ।
हरेक आमालाई आफ्नो गर्भ प्यारो हुन्छ। तर कसैलाई आर्थिक, कसैलाई व्यावहारिक, कसैलाई समय त कसैलाई सामाजिक बाध्यताले गर्भपतन गराउनुपर्ने अवस्थामा पुऱ्याउँछ। यो बाध्यताले कानुनी आधार पाएपछि यसको व्यवस्थापन सहज भयो र यो प्रक्रिया असुरक्षित र गोप्य हुनुको सट्टा सुरक्षित अधिकार बन्न पुग्यो।
नेपालले २०५९ सालमा सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएपछि प्रजनन स्वास्थ्यमा ठूलो सुधार भयो। हाल नेपालका ७७ वटै जिल्लामा तालिमप्राप्त स्वास्थ्यकर्मीहरूबाट सुरक्षित गर्भपतनको सेवा लिन सकिन्छ। सरकारी स्वास्थ्य संस्थामा यो सेवा निःशुल्क उपलब्ध छ।
तर, ज्ञानको अभाव, लाज-कलङ्क, गलत सूचना र अनियन्त्रित औषधिको पहुँचले महिलाहरू असुरक्षित बाटो रोज्न पुग्दा यी उपलब्धिहरू अर्थहीन हुन्छन्। परिणाम स्वरूप, हामीले गम्भीर स्वास्थ्य जटिलता, जीवनको जोखिम र कहिलेकाहीँ मृत्युको समेत सामना गर्नुपरेको छ। त्यही वास्तविकतासँग जोडिएको एउटा घटना मनमा सधैँ बसिरहन्छ।
एक रात करिब एघार बजे हामीले एक महिलालाई आकस्मिक कक्षमा पायौँ। उनका श्रीमानले उनलाई गम्भीर अवस्थामा लिएर आएका थिए। श्रीमानका अनुसार, शुरूमा सामान्य रक्तस्राव भए पनि पछि अचानक अत्यधिक हुन थालेपछि अस्पताल ल्याइएको रहेछ। अस्पताल पुग्दा उनको रक्तचाप निकै कम भइसकेको थियो र उनी होस गुमाउँदै थिइन्।
श्रीमानले भने, ‘हामीले गर्भपतनका लागि अघिल्लो दिन एउटा औषधि खायौँ, अर्को दिन दिउँसो चारवटा थप्यौँ।’ फार्मेसीले कुनै परीक्षण नगरी, कुनै डाक्टरी सल्लाहबिना, केवल श्रीमानले ‘श्रीमती करिब दुई महिनाको गर्भवती हुन्’ भनेको भरमा औषधि दिएको रहेछ।
हामी तुरुन्तै उपचारमा खटियौँ। औषधिको प्रभावले उनको गर्भपतन हुने प्रक्रिया शुरू भइसकेको थियो। गर्भभित्र बाँकी रहेका अंशहरूलाई तत्कालै निकाल्यौँ र तीन पिन्ट रगत चढायौँ। अन्ततः उनको ज्यान बच्यो।
औषधिले गर्भपतन गराउन सक्छ, तर गर्भको परीक्षण, अवस्थाको जाँच, उपयुक्त परामर्श र तालिमप्राप्त सेवा प्रदायकको निगरानीबिना औषधि प्रयोग गर्नु हुँदैन। यो जीवनलाई जोखिममा पार्ने काम हो र ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ ले पनि यसलाई रोकेको छ।
ऐनले ‘गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ सूचीकृत स्वास्थ्य संस्थामा, तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा सुरक्षित रूपमा गर्भपतन गराउन पाइने’ व्यवस्था गरेको छ।
न कुनै फार्मेसी यो सेवाका लागि सूचीकृत हुन्छ, न त कुनै बिक्रेता नै। यसका लागि अस्पताल, क्लिनिक आवश्यक प्रक्रिया पूरा गरेर सूचीकृत हुन पाउँछन्। र, सेवा प्रदायकले नर्सिङ वा चिकित्साशास्त्र (डाक्टरी) अध्ययन गरेपछि विशेष तालिम लिएर सूचीकृत हुन्छन्।
तर हामी छिटो सेवा पाउने हतारमा जोखिम लिइरहेका हुन्छौँ। धेरैलाई हामी बचाउँछौँ, तर सधैँ सफल भइन्छ भन्ने हुँदैन। त्यही घटनालाई हेरौँ त, त्यो रात उनीहरू अस्पताल नपुगेका भए के हुन्थ्यो? त्यसैले, गर्भपतनको विषयलाई केवल कानुनी वा चिकित्सकीय दृष्टिले मात्र हेरेर पुग्दैन। यो सामाजिक संवेदनशीलता र सामुदायिक समर्थनको विषय पनि हो।
अनेक कारणले महिला असुरक्षित बाटो अपनाउँछन्। कतिले परिवारलाई बताउन सक्दैनन्, कतिले आर्थिक अभावले सहज सेवा नपाउन सक्छन्। कतिपय समाजले दिने कलङ्कका कारण आवाज उठाउन डराउँछन् भने कतिपय बिचौलियाहरूको भ्रममा पर्छन्। घरमै सस्तो र सजिलो सेवा खोज्दा उनीहरू जोखिम मोल्छन्।
सुरक्षित गर्भपतनले धेरै सुनिश्चित गरेको छ। यसको पहिलो शर्त वा आधार-योग्य तथा तालिमप्राप्त सेवा प्रदायकको उपस्थिति। दोस्रो -मान्यता प्राप्त स्वास्थ्य संस्था। तेस्रो -आवश्यक पूर्वपरीक्षण र परामर्श। चौथो- गोपनीयता र मर्यादा। यी चारवटा आधार बिना दिने कुनै पनि सेवा सुरक्षित मान्न सकिँदैन।
चिकित्सकीय दृष्टिले औषधि-आधारित गर्भपतन प्रारम्भिक अवस्थामा प्रभावकारी र सुरक्षित मानिन्छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई प्रमाणित गरेको छ। नेपालमा पनि ६ वटा जिल्लामा सफल परीक्षणपछि मात्र यो पद्धति अपनाउन थालिएको हो।
यदि उपयुक्त औषधि, सही मात्रा र सही समयमा प्रयोग गरिएमा यो ९८ प्रतिशतसम्म सफल हुन्छ। तर यसका लागि गर्भको परीक्षण, अन्य जटिलताहरूको पहिचान र स्वास्थ्यकर्मीको परामर्श अनिवार्य पर्छ। यो ज्वरो आउँदा सिटामोल खाएजस्तो सामान्य होइन।
ग्रामीण र सहरी दुवै ठाउँमा सचेतनाको कमी, शिक्षा र पहुँचको असमानताले महिलालाई जोखिममा पार्छ। यद्यपि, कानुनी व्यवस्था, तालिम र निःशुल्क सेवाले अनेकौँ गर्भवतीको जीवनदान भएको छ।
तथ्याङ्कअनुसार, नेपालमा हुने कुल मातृ मृत्युमध्ये ५ प्रतिशत असुरक्षित गर्भपतनका कारणले हुने गरेको छ। यो आँकडा केवल संख्या होइन; प्रत्येक संख्या पछाडि एउटा परिवार, एउटा कथा, एउटा सपना र एउटा भविष्य तुहिएको छ।
मैले त्यस्ता कतिपय परिवारको आँसु र शोक देखेको छु। तैपनि, तथ्याङ्कले हामीलाई सोध्छ- किन अझै ५२ प्रतिशतभन्दा बढीले असुरक्षित गर्भपतन अङ्गालेका छन्? किन राज्यको उपलब्धि र स्वास्थ्यकर्मीको उपस्थिति हुँदाहुँदै पनि सेवा सिधै जनतासम्म पुग्न सकेको छैन?
समाधान बहुआयामिक हुनुपर्छ। जनचेतना अभिवृद्धि अनिवार्य छ, तर केवल नारा राखेर पुग्दैन। विद्यालय, समुदाय, परिवार र समूह स्तरमा यो विषयमा विवेचनात्मक, संवेदनशील तर सहज भाषामा संवाद गर्न आवश्यक छ।
स्वास्थ्य व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, जसले ग्रामीण क्षेत्रमै पहुँच बढाओस्। फार्मेसी र औषधि वितरण प्रणालीलाई कडाइका साथ नियमन गरिनुपर्छ। चिकित्सकीय सल्लाहबिना गर्भपतन गराउने औषधि दिने व्यवहार रोकिनुपर्छ।
स्वास्थ्यकर्मीलाई प्रशिक्षण मात्र होइन, उनीहरूसँग काम गर्ने बिचौलियाविरुद्ध निगरानी प्रणाली पनि हुनुपर्छ। र, सबैभन्दा महत्त्वपूर्ण कुरा समाज सन्तुलित हुनुपर्छ। गर्भपतनलाई केवल नैतिकताको प्रश्न बनाइनु हुँदैन। यो कुनै अपराध होइन, कहिलेकाहीँ जीवन र स्वास्थ्यको रक्षा गर्ने जरुरी र बाध्यात्मक निर्णय हो भनेर बुझ्नुपर्छ। मानिसहरूले गर्ने बहिष्कार र दुर्व्यवहारले महिलालाई चुप गराउँछ।
सामाजिक विभेद हटेमा खुला संवादको वातावरण बन्छ र सेवा प्रयोग गर्ने हिम्मत बढ्छ। परिवारभित्र सहानुभूति बढाएर महिलाले सहजै सेवा लिने वातावरण तयार गर्न सकिन्छ। सन्तुलित समाजले मात्र महिलाको स्वास्थ्यलाई सुरक्षित बनाउन सक्छ।
जसरी त्यो रात हामीले तत्काल उपचार गरेर जीवन बचायौँ, त्यस्तै हामीले दीर्घकालीन रणनीति अपनाएर अनगिन्ती जीवन बचाउन सक्छौँ।
‘सुरक्षित जीवनका लागि सुरक्षित गर्भपतन सेवा’ यस वर्षको नारा हो। यसलाई व्यवहारमा उतारौँ।
कुनै महिलाले गर्भपतन रोज्छिन् भने, त्यो एउटा सरल निर्णय मात्र होइन; त्यसले परिवार, समाज र भावी पुस्तालाई समेत समेट्छ। असुरक्षित बाटोले एउटी आमालाई मात्र होइन, भविष्यका अनेक सम्भावनालाई अन्धकारमा धकेल्छ।
त्यसैले, हामी सबै मिलेर काम गरौँ। पहुँच बढाऔँ, सही जानकारी फैलाऔँ, तालिम र नीतिलाई कार्यान्वयन गरौँ र सबैभन्दा महत्त्वपूर्ण- सामाजिक विभेद हटाऔँ। जबसम्म महिलाले निडर भएर स्वास्थ्यकर्मीको सहकार्यमा सुरक्षित सेवा लिन सक्दैनन्, तबसम्म हाम्रो प्रयत्न पर्याप्त हुँदैन। त्यसकारण, फेरि दोहोऱ्याउँछु- गर्भपतन होइन, सुरक्षित गर्भपतन रोज्नुपर्छ।
असोज १०, २०८२ शुक्रबार ०७:१७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।