१५ वर्षीय किशोरको अपहरणपछि हत्याको घटना जोडियो व्यक्तिगत रिसइबीमा, प्रहरीले पक्राउ गर्‍यो १७ वर्षका किशोरलाई

१५ वर्षीय किशोरको अपहरणपछि हत्याको घटना जोडियो व्यक्तिगत रिसइबीमा, प्रहरीले पक्राउ गर्‍यो १७ वर्षका किशोरलाई

जनकपुर : अपहरणमा फिरौती नपाएपछि हत्या भएको शङ्का गरिएको सिराहाको १५ वर्षीय किशोरको हत्या रिसइबीमा जोडिएको छ।  सिरहा गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका अभिषेक सिंहको शव असोज ७ मा घर नजिकैको आँप बगैँचामा फेला परेको थियो।

घटनामा संलग्न रहेको आरोपमा १७ वर्षका पङ्कज शाह पक्राउ परेपछि ट्याक्टर चलाउन नसिकाएको रिसमा उनले हत्या गरेर पछि घटनालाई मोड्न हिन्दी भाषामा पाँच करोड फिरौती मागेर एसएमएस पठाएको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार अभिषेक हराएदेखि नै पङ्कज उनको खोजीमा सक्रिय भए झैँ व्यवहार गरेका थिए। बिहान घर नजिकैको आँप बगैँचामा शव फेला परेपछि पनि उनी त्यतै थिए। तर जब प्रहरीले अनुसन्धानमा सघाउन तालिमप्राप्त कुकुर ल्यायो अनि पङ्कजको पोल खुलेको थियो।

घटनास्थलमा बरामद भएको सामग्रीको आधारमा अनुसन्धानमा सघाउन ल्याएको कुकुर पङ्कज रहेको घरको आँगनमा गएर रोकिएपछि छतमा गएर बसेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रारम्भिक बयानमा उनले ट्याक्टर नसिकाएपछि हत्याको योजनासहित खेल्न बोलाएर पहिला हात बाँधेर हत्या गरेर ड्रममा राखेर पुरेको बताएका थिए।

ड्रममा राखेर पुरेपछि बेलुका पानी परेको र ड्रम देखिएपछि शव निकालेर आँप बारीमा फालेको र ड्रम पोखरीमा मिल्काएको उनले बयान दिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए।

हत्यापछि भारतीय अपराधीले अपहरण गरेर हत्या गरेको बनाउन उनले पाँच करोड फिरौती रकम माग गर्दै इमोमार्फत हिन्दी भाषामा परिवारलाई सन्देश पठाएका थिए। सन्देशमा उनले फिरौती नदिए हत्या गरेर फाल्ने चेतावनी दिइएको थियो। तर पहिला नै उनको हत्या भइसकेको थियो।

मृतकको बुबाको मृत्यु भइसकेको, घरको एक्लो सन्तान भएको र आरोपी नाबालक भएकाले कतै सम्पत्तिको लोभमा योजनाबद्ध रुपमा हत्या गरेर त्यसको दोष नाबालकलाई लगाएको त हैन भन्ने कोणबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान समेत शुरु गरेको छ।

सम्बन्धित समाचार

असोज ९, २०८२ बिहीबार २२:०१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।