नेताहरूको पासपोर्ट रोक्का मात्र होइन आवश्यक परे पक्राउ गरेर बयान समेत लिन सकिन्छ : गृहमन्त्री अर्याल

नेताहरूको पासपोर्ट रोक्का मात्र होइन आवश्यक परे पक्राउ गरेर बयान समेत लिन सकिन्छ : गृहमन्त्री अर्याल

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले पुराना दलका शीर्ष नेताहरूमाथि पासपोर्ट रोक्कादेखि पक्राउसम्मका कारबाही हुन सक्ने संकेत गरेका छन्।

आज मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले कानूनअनुसार अनुसन्धान अघि बढाइने प्रष्ट पारे। ‘राज्यका अनुसन्धान निकायहरू सक्रिय भइसकेका छन्। तिनले कानूनमा लेखिएको अनुसारै गर्छन्। प्रधानमन्त्रीले पनि सुशासन र भ्रष्टाचारविरुद्ध सरकार दृढतापूर्वक अघि बढ्छ भनेर बताइसक्नुभएको छ,’ गृहमन्त्री अर्यालले भने।

उनले सरकारले गठन गरेको आयोगले दिने प्रतिवेदनकै आधारमा दोषीमाथि कारबाही हुने बताए। न्यायाधीशको नेतृत्वमा बनेको आयोगलाई मन्त्रीस्तरीय प्रोटोकल दिइएको र यसले निस्पक्षतापूर्वक काम गर्ने उनले बताए।

आन्दोलनका घटनामा तत्कालीन सरकारका प्रमुख नेताहरू पर्छन् कि भन्ने प्रश्नमा उनले ‘त्यो आयोगले देखाउँछ, पर्छन् भने कारबाही हुन्छ’ भन्दै प्रष्ट पारे।

पत्रकारहरूले पासपोर्ट रोक्का गर्नेबारे प्रश्न गर्दा गृहमन्त्रीले भने, “अनुसन्धान निकायले जे आवश्यक हुन्छ त्यही गर्छ-पासपोर्ट रोक्का मात्र होइन, आवश्यक परे पक्राउ र बयान समेत लिन सक्छ।’ 

असोज ९, २०८२ बिहीबार २१:०५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।