रुसले पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने

एजेन्सी : युक्रेनी आक्रमणका कारण तेल प्रशोधन केन्द्रहरूमा उत्पादन प्रभावित भएपछि रूसले आफ्नो पेट्रोल निर्यात प्रतिबन्धलाई सन् २०२५ को अन्त्यसम्म लम्ब्याउने घोषणा गरेको छ।
मार्चदेखि लागू भएको यो प्रतिबन्धको उद्देश्य घरेलु बजारमा पर्याप्त इन्धन आपूर्ति सुनिश्चित गर्नु रहेको उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार संस्था तासले जनाएको छ।
नोभाकका अनुसार सरकारले पेट्रोलसँगै डिजेल इन्धन निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ।
गत केही महिनादेखि युक्रेनले विभिन्न रुसी तेल प्रशोधन केन्द्रहरूलाई आक्रमण गर्दै आएको छ। युक्रेनले यसलाई युद्धका कारण मस्कोमाथि “उचित बदला” र रूसी सेनालाई सहयोग गर्ने ऊर्जा आम्दानी घटाउने प्रयास भनेको छ।
रूसले भने गर्मी याममा भएका आक्रमणहरूले धेरै प्रमुख केन्द्रहरूको प्रशोधन क्षमतामा असर पारेको, जसले इन्धनको मूल्य बढाएको र केही क्षेत्रमा अभाव निम्त्याएको स्वीकार गरेको छ। रूसी प्रशासनका अनुसार विशेषगरी कब्जा गरिएको क्रिमिया प्रायद्वीपले इन्धन अभावको गम्भीर समस्या भोगिरहेको छ।
बुधबार मात्रै युक्रेनले बाश्कोर्तोस्तान क्षेत्रको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा ठूलो आगलागी भएको थियो।
असोज ९, २०८२ बिहीबार २०:४८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।