जेनजीलाई प्रधानमन्त्रीको अपील- शासकीय प्रणालीको संशोधन यो सरकारको कार्यक्षेत्रमा छैन, चुनावपछि गरौं

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले बिहिबार सिंहदरबारबाट पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गरिन्। उनले छ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउने यो सरकारको पहिलो दायित्व रहेको बताइन्।
उनले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध रहेको जानकारी दिइन। साथै, विदेशमा रहेका नेपाली मतदातालाई मतदान गराउने उपायहरू खोजिरहेको बताइन्।
प्रधानमन्त्री कार्कीले नागरिकलाई उत्साहका साथ मतदान गरी योग्य व्यक्तिलाई निर्वाचित गराउन आग्रह गर्नुका साथै, सरकारका कुनै पनि निकायमा ढिलासुस्ती वा भ्रष्टाचार भएमा उजुरी दिनको लागि ‘हटलाइन’को व्यवस्था रहेको जानकारी दिइन्।
उनले संविधान संशोधनसम्बन्धी विषय जननिर्वाचित संसदमार्फत समाधान गर्न सुझाव दिनुका साथै, जेनजी आन्दोलनको भावनाबमोजिम सरकार सञ्चालन भइरहेको उल्लेख गरिन्। उनले वर्तमान शासकीय स्वरूप फेर्न संविधान संशोधन आवश्यक पर्ने भएकाले यो काम आगामी निर्वाचनपछि बन्ने सरकारले मात्रै पूरा गर्नसक्ने बताइन्।
अतिरिक्त रूपमा, चालु आर्थिक वर्षका स्रोत सुनिश्चित नभएका र टुक्रे आयोजनाका बजेट खारेज गरिएको र क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि पुनःनिर्माण कोष स्थापना गरिएको जानकारी समेत प्रधानमन्त्री कार्कीले दिइन्।
प्रधानमन्त्री कार्कीले राष्ट्रसेवक कर्मचारीलाई पनि मनोबल गिराउने काम नगर्न र सेवाप्रवाहमा कर्तव्यपरायण हुन अपिल गरिन्। उनले युवा पुस्ताको सोच र भावना अनुसार मनोबल उच्च राखेर राष्ट्र सेवक कर्मचारीले आफूलाई रुपान्तरण गरि नागरिकको अपेक्षा पूरा गर्ने काम गर्न निर्देशन दिइन्।
भदौ २३-२४ मा भएको जेनजी समूहको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिमा भदौ २७ गते आन्तरिक सरकार गठन भएको थियो। आजको सम्बोधन अघि विस्तारित मन्त्रिपरिषद्को दोस्रो बैठक सम्पन्न भएको थियो।
असोज ९, २०८२ बिहीबार १८:३६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।