नेपालमा भेटिए छेपारोका दुई नयाँ प्रजाति

काठमाडौं : नेपालमा छेपारोका दुई नयाँ प्रजाति पत्ता लागेका छन्। संरक्षणकर्मीहरूको टोलीले मकवानपुर र सिन्धुली जिल्लामा वेन्ट-टोड गेक्को (माउसुली परिवार) का यी नयाँ प्रजाति फेला पारेका हुन्।
मुख्य शोधकर्ता सन्तोष भट्टराईका अनुसार मकवानपुरगढीमा भेटिएको प्रजातिको नाम ‘मकवानपुरगढी वेन्ट–टोड गेक्को’ र सिन्धुलीको हरिहरपुर चुरे क्षेत्रमा भेटिएको प्रजातिको नाम ‘चुरे वेन्ट–टोड गेक्को’ राखिएको छ।
यी दुवै प्रजाति विश्वमै नयाँ प्रमाणित भइसकेका छन् र दुई दिनअघि मात्र अन्तरराष्ट्रिय जर्नल जुकिजमा प्रकाशितसमेत भएका छन्। भट्टराई फेडेरेसन युनिभर्सिटी, अष्ट्रेलियामा छेपारो सम्बन्धी विद्यावारिधि गर्दैछन्।
भट्टराईको टोलीले सन् २०२४ को जुन–जुलाईमा अनुसन्धानका क्रममा यी प्रजाति फेला पारेको थियो। यसअघि पनि सोही टोलीले नेपालमा वेन्ट-टोड गेक्को प्रजातिका तीन नयाँ छेपारो पत्ता लगाएर नामकरण गरेको थियो।
हालसम्म नेपालमा फेला परेका वेन्ट-टोड गेक्को सात प्रजाति पुगेका छन्, जस मध्ये पाँच भट्टराईकै नेतृत्वमा पत्ता लागेको हो। संसारभर भने यस परिवारका ३८० भन्दा बढी प्रजाति भेटिएका छन्।
वरिष्ठ संरक्षणकर्मी करण शाहका अनुसार यी छेपारोले किराफट्याङ्ग्रा खाएर बालीनाली र लुगाफाटोलाई जोगाउने मात्र होइन, धेरै जनावरको आहारा र औषधिजन्य उपयोगका कारण पनि महत्वपूर्ण मानिन्छन्।
संरक्षणकर्मीहरूले नेपालमा अझै धेरै नयाँ प्रजाति फेला पर्न बाँकी रहेको भन्दै सरोकारवालाले सरीसृपलगायत कम अध्ययन भएका जीवजन्तुको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
असोज ९, २०८२ बिहीबार १५:४०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।