तुइन खोलाको पहिरोले नारायणगढ-मुग्लिन सडक तीन दिनदेखि ठप्प, सात किलोमिटरसम्म ट्राफिक जाम

काठमाडौं : नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको तुइन खोलामा खसेको पहिरोका सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्गमा समेत पाँच किलोमिटर लामो ट्राफिक जाम भएको छ।
तुइन खोलामा पहिरो पन्छाइन नसक्दा कुरिनटारदेखि तुइन खोलासम्म सात किलोमिटर र कुरिनटारदेखि मुग्लिनसम्म पाँच किलोमिटरभन्दा लामो जाम लागेको छ।
लामो ट्राफिक जामका कारण दशैंका लागि अत्यावश्यक सामग्री बोकेका सयौं ट्रक र घर जान लागेकाे यात्रु बाटोमै अलपत्र परेका छन्।
डिभिजन सडक कार्यालय, भरतपुरले बिहीबार बिहानैदेखि पाँचवटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम गरिरहेको छ। तर, पहिरो खसेको ठाउँ साँघुरो हुनु र बुधबार साँझ पानी परेकाले काम प्रभावित भएको छ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार, सडक कहिले खुल्छ भन्ने अझै अनिश्चित छ।
‘पहिरो गएको ठाउँ साँघुरो भएकाले धेरै मेसिन एकैपटक प्रयोग गर्न सकिएको छैन,’ आचार्यले भने, ‘त्यसैले पहिरो सफा गरेर सडक खुलाउन समय लाग्ने देखिन्छ।’
राजमार्ग अवरुद्ध हुँदा सबैभन्दा ठूलो मारमा मालवाहक सवारी परेका छन्। दशैंका लागि काठमाडौंलगायतका सहरमा लैजान लागिएका खसी-बोका, राँगा, चिनी, प्याज, तरकारी, खाद्यान्न र इन्धन बोकेका ट्रकहरूको लामो लाइन लागेको छ।
राजधानीलाई देशको पूर्वी र पश्चिमी भेगसँग जोड्ने यो मुख्य राजमार्गको इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोलामा गत शुक्रबारदेखि नै पटक-पटक पहिरो खस्ने समस्या देखिएको छ
असोज ९, २०८२ बिहीबार १४:३९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।