लद्दाखमा प्रदर्शन हिंसात्मक बन्दा चार जनाको मृत्यु, लेह र कारगिलमा कडा सुरक्षा प्रतिबन्ध

लद्दाखमा प्रदर्शन हिंसात्मक बन्दा चार जनाको मृत्यु, लेह र कारगिलमा कडा सुरक्षा प्रतिबन्ध

काठमाडौं : भारतको लद्दाखमा स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

घटनापछि भारतीय अधिकारीहरूले लद्दाखका दुई मुख्य जिल्ला लेह र कारगिलमा कडा सुरक्षा प्रतिबन्ध लगाएका छन्।

अधिकारीहरूले ती क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाउँदै सडकमा सयौं प्रहरी र अर्धसैनिक बल परिचालन गरेका छन्। बिहीबारदेखि बजार र व्यवसाय ठप्प छन्।

बुधबार लेह सहरमा पदयात्रा गर्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेपछि झडप शुरू भएको थियो। प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेपछि प्रहरीले गोली, अश्रुग्यास र लाठी प्रहार गरेको थियो। सोही क्रममा कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ।

आक्रोशित प्रदर्शनकारीहरूले सरकारी भवन र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को स्थानीय कार्यालयमा आगजनी समेत गरेका थिए।

सन् २०१९ मा भारत सरकारले जम्मु-कश्मीरबाट लद्दाखलाई अलग्याउँदै त्यसको राज्यको दर्जा र अर्धस्वायत्तता खोसेपछि यो क्षेत्रमा राजनीतिक अधिकार र भूमि संरक्षणको माग चर्किएको हो।

शुरूमा सरकारको निर्णयलाई समर्थन गरेका स्थानीयहरू अहिले आफ्नो भूमि, व्यापार र फ्र्यागाइल इकोसिस्टममा बाहिरी प्रभाव बढ्ने डरले असन्तुष्ट छन्।

हालै भोक हडतालमा बसेका दुई प्रदर्शनकारीको स्वास्थ्य अवस्था बिग्रिएपछि आन्दोलन थप चर्किएको थियो।

भारतको गृह मन्त्रालयले प्रहरीले ‘आत्मरक्षा’ मा गोली चलाएको दाबी गरेको छ। मन्त्रालयले हिंसा भड्किनुमा चर्चित जलवायु कार्यकर्ता सोनम वाङ्चुकको ‘उत्तेजक भाषण’ लाई दोष दिएको छ। सरकारी आरोपपछि वाङ्चुकले आफ्नो भोक हडताल फिर्ता लिएका छन्।

लद्दाखका प्रतिनिधि र भारत सरकारबीच पटक-पटक भएका वार्ता निष्कर्षविहीन भएका छन्। अर्को बैठक अक्टोबर ६ मा तोकिएको छ।

असोज ९, २०८२ बिहीबार १४:१०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।