नेपाली क्रिकेटको नयाँ जर्सी : आधिकारिक मूल्य ३६ सय, तर नेपाल आइपुग्दा ७७ सयभन्दा बढी

नेपाली क्रिकेटको नयाँ जर्सी : आधिकारिक मूल्य ३६ सय, तर नेपाल आइपुग्दा ७७ सयभन्दा बढी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी नेपालमा रहेका समर्थकका लागि अत्यधिक महँगो पर्ने भएको छ। जर्सीको आधिकारिक मूल्य ३६ सय रुपैयाँ तोकिए पनि भारतबाट अनलाइनमार्फत खरिद गर्दा ढुवानी शुल्कसहित यसको मूल्य ७७ सय रुपैयाँभन्दा बढी पर्न जाने देखिएको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतमा मात्र शाखा रहेको ‘टी१० क्लोदिङ’ कम्पनीसँग जर्सीको सम्झौता गरेको छ।

कम्पनीको आधिकारिक वेबसाइटमा आधा बाहुला भएको जर्सीको मूल्य ३६ सय रुपैयाँ देखाइए पनि नेपालमा डेलिभरीका लागि सिपिङ शुल्कलगायत जोड्दा कुल मूल्य ७७ सय ७० रुपैयाँ पुग्ने देखिन्छ।

नेपालमा टी१० कम्पनीको आधिकारिक शोरुम नभएकाले हाल समर्थकका लागि अनलाइनबाट खरिद गर्नुको विकल्प छैन, जसका लागि कम्तीमा १२ देखि १५ दिन लाग्ने वेबसाइटमा उल्लेख छ। कम्पनीको वेबसाइटमा राखिएको ह्वाट्सएपमा सम्पर्क गर्दा त्यहाँबाट नेपालमा कुनै स्टोर नरहेको जवाफ आएको छ।

उकेरासँगको कुराकानीमा टी१० कम्पनीका प्रतिनिधिले भने, ‘हामी आधिकारिक वितरक हौँ। हामीले भाट-भटेनीलाई उत्पादन आपूर्ति गरेका छौँ। तपाईं २ देखि ३ महिना पछि स्टोरमा जाँच गर्न सक्नुहुन्छ।’

तर, नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामा भने नेपालका समर्थकले जर्सीका लागि ७७ सय रुपैयाँ तिर्नु नपर्ने दाबी गर्छन्। उनका अनुसार, क्यानले भाटभटेनी होल्डिङ्स र टी१० सँग संयुक्त रूपमा सम्झौता गरेकाले जर्सी छिट्टै नेपालमा तोकिएको मूल्यमा उपलब्ध हुनेछ।

‘केल्मीसँगको सम्झौता सकिएपछि भाटभटेनी होल्डिङ्स र टी१० ले संयुक्त रूपमा सम्झौता गरेका हुन्,’ उनले भने, ‘अनलाइनबाट किन्दा महँगो परे पनि केही समयपछि भाटभटेनी होल्डिङ्समार्फत तोकिएको मूल्यमै जर्सी पाइन्छ।’

यता भाटभटेनी होल्डिङ्सका निर्देशन आलोकजंश जोशीले नेपालमा उक्त जर्सी दशैंअघि आउने सम्भावना नरहेको बताए। दशैं लगत्तै जर्सी ल्याएर नेपालको मार्केट अनुसार अहिले तोकिएको मूल्यभन्दा पनि कममा बेच्ने तयारीमा रहेको उनले बताए।

उनले उकेरासँग भने, ‘वेस्ट इन्डिजसँगको सिरिज अगावै नेपालमा ल्याएर वितरण गर्ने भनिएको थियो। तर, जेन-जी आन्दोलन, बर्खाका कारण बाटोको अवस्था र भाटभटेनी सुपरमार्केटकै धेरै आउटलेटहरूमा आगजनी भएकाले अहिले सम्भव भएन।’

जोशीका अनुसार, वेस्ट इन्डिजविरुद्धको सिरिज खेल्नका लागि युएई पुगेका राष्ट्रिय टिमका खेलाडी र अफिसियलका लागि भने भारतबाटै जर्सी युएई पठाइसकिएको छ। राष्ट्रिय क्रिकेट टिमका खेलाडी मोहम्मद आदिल आलमले आफ्नो फेसबुकमा जर्सीको तस्बिर राखेका छन्।

शुरूमा भाटभटेनीका स्टोरहरूमा र पछि अनलाइनबाट पनि जर्सी डेलिभरी गर्ने प्रयासमा आफूहरू रहेको उनले बताए। भाटभटेनी होल्डिङ टी१० को आधिकारिक वितरक भएको र यसले ८ वर्षअघि नेपाली क्रिकेट टिमलाई जर्सी उपलब्ध गराउँदै आएको उनको दाबी थियो।

असोज ९, २०८२ बिहीबार १३:३०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।