माओवादी बैठकमा शुरूमै हंगामा, मिडियालाई बाहिर निकालियो

माओवादी बैठकमा शुरूमै हंगामा, मिडियालाई बाहिर निकालियो

काठमाडौं : माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा युवा नेताहरूले विरोध जनाएपछि शुरूमै हंगामा भएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको बैठकको कार्यसूचीमाथि आपत्ति जनाउँदै होहल्ला भएपछि सञ्चारकर्मीहरूलाई हलबाट बाहिर निकालिएको छ।

बैठकको शुरूमा महासचिव देव गुरुङले अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि समूहगत छलफल हुने जानकारी गराएका थिए।

लगत्तै, पूर्वमन्त्री सुदन किराती, रन्जित तामाङलगायतका युवा नेताहरूले उठेर समूहगत छलफलको प्रक्रियामाथि आपत्ति जनाए।

उनीहरूले हरेक केन्द्रीय सदस्यले बैठकको पूर्ण हलमा आफ्नो धारणा राख्न पाउनुपर्ने माग गरेपछि केहीबेर होहल्ला भएको थियो। त्यसपछि महासचिव गुरुङले सञ्चारकर्मीहरूलाई बाहिर जान आग्रह गरेका थिए।

यसैबीच, बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव वर्षमान पुनले जेन-जी पुस्ताले उठाएका एजेन्डा जायज भएको तर आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

उनले भने, ‘जेन-जी पुस्ताले भ्रष्टाचार नियन्त्रण, नातावाद-परिवारवाद र शासकीय स्वरूपका विषयमा उठाएका माग सही छन्। तर भदौ २४ गतेको घटना दुःखद हो।’

उनले पार्टी कार्यालय, नेताहरूको घर, तथा अन्य राष्ट्रिय र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए।

असोज ९, २०८२ बिहीबार १२:३५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।