जेन-जी आन्दोलन क्षतिको बीमा दाबी २३ अर्ब ९८ करोड पुग्यो

जेन-जी आन्दोलन क्षतिको बीमा दाबी २३ अर्ब ९८ करोड पुग्यो

काठमाडौं : जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि परेको बीमा दाबी रकम २३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ पुगेको छ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरणअनुसार, भदौ २३ गतेदेखि असोज ८ गतेसम्म देशभरका विभिन्न बीमा कम्पनीहरूमा जम्मा २,०८८ वटा दाबी दर्ता भएका छन्। ती दाबीहरूअनुसार कुल २३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको हो।

प्राधिकरणका अनुसार, सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ। कम्पनीले ३७१ दाबीमार्फत ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ भन्दा बढी भुक्तानी गर्नुपर्ने देखिएको छ।

त्यसपछि ओरिएन्टल इन्स्योरेन्सले ८६ दाबीमार्फत ५ अर्ब २३ करोड २४ लाख र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १९६ दाबीमार्फत २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

प्रदेशगत रूपमा हेर्दा, सबैभन्दा बढी क्षति बागमती प्रदेशमा भएको छ। बागमतीमा १,६९८ वटा दाबी दर्ता भई कुल १८ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको छ। अन्य प्रदेशहरूको अवस्था यस्तो छ:

कोशी प्रदेश: ३७७ दाबी (रु. २ अर्ब २५ करोड)
गण्डकी प्रदेश: २१९ दाबी (रु. १ अर्ब ७९ करोड ३० लाख)
मधेश प्रदेश: ३२३ दाबी (रु. ६५ करोड)
लुम्बिनी प्रदेश: २५६ दाबी (रु. ५१ करोड)
सुदूरपश्चिम प्रदेश: १८२ दाबी (रु. २५ करोड ८७ लाख)
कर्णाली प्रदेश: २५ दाबी (रु. ८ करोड ९८ लाख)

असोज ९, २०८२ बिहीबार ११:४१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।